सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा खाली गराउन पत्राचार

२०८२ मंसिर २४, ०२:३९ खबर संवाददाता

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा २२ वर्षदेखि भाडामा लिएर व्यापारी तथा स्थानीयले प्रयोग गर्दै आए पनि अधिकांशले भाडा नतिरेको र जमिन खाली नगरेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई जग्गा खाली गराउन पत्राचार गरेको छ। विद्यालयको नाममा रहेको सुखड बजारको पूर्वी क्षेत्रमा पर्ने कित्ता नम्बर २५१ को एक बिघा १२ कट्ठा जग्गा व्यापारीहरूले घर–टहरा बनाई बसोबास र व्यापार गर्दै आएपछि विद्यालयलाई आफ्नो प्रयोजनका संरचना बनाउन कठिनाइ हुँदै आएको छ।

शिक्षा मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार सोमबार पठाइएको पत्रमा अदालतले विभिन्न मितिमा आदेश दिए पनि जग्गा नछोडेर सरकारी स्वामित्वको जग्गा कब्जा गरिएको भन्दै आवश्यक समन्वयका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ। मन्त्रालयको सचिवस्तरको निर्णयपछि पत्राचार गरिएको हो।

जग्गा उपयोग गर्दै आएको करिब १७० मध्ये केहीले मात्र भाडा तिरेका छन्, धेरैले वर्षौंदेखि नतिरेको विद्यालयको रेकर्डमा छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालका अनुसार करिब डेढ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ, जसमा एक व्यक्ति मात्रैबाट पनि चार–छ लाखसम्म उठ्न बाँकी देखिन्छ। विद्यालयले पटक–पटक ताकेता र सार्वजनिक सूचना दिए पनि भाडा उठाउन नसकेपछि अदालत धाउनुपरेको उनले बताए।

विद्यालयको जग्गामा संरचना बनाइ कब्जा जमाएपछि २०७५ सालमा सुदूरपश्चिम प्रदेशकै एक मात्र नमुना विशेष विद्यालय सञ्चालन गर्ने सरकारी योजना पनि ढिलो भएको छ।
 

कमेन्ट लोड गर्नुस