परशुराममा पढाइएका लागि ५ लाखसम्म बिनाब्याज ऋण
डडेल्धुरा: डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सुरु गरेको ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न चाहने तर आर्थिक समस्या भोगिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीति अवलम्बन गरेको थियो।
गत आर्थिक वर्षबाट सुरु भएको यस कार्यक्रमअन्तर्गत ३० जनाले ऋण लिई हाल विभिन्न प्राविधिक विषयहरू अध्ययन गरिरहेका छन्। यी विद्यार्थीहरूले पहिलो किस्ता आर्थिक वर्ष २०८१-०८२ मा पाएका थिए भने दोस्रो किस्ता चालु आर्थिक वर्षमा नगरपालिकाले वितरण गरिरहेको छ।
नगरपालिकाको शैक्षिक कर्जा सुविधा प्रयोग गर्ने विद्यार्थीहरू अहिले देशका विभिन्न कलेजहरूमा एमबीबीएस, इन्जिनियरिङ, बीएस्सी एजी (कृषि), नर्सिङ, एचए र कम्प्युटर इन्जिनियरिङ जस्ता विषयहरू अध्ययनरत छन्। विद्यार्थीहरूको शुल्कबापत पहिलो र दोस्रो किस्ता रकम नगरपालिकाले सोझै क्याम्पसको खातामा जम्मा गरिदिएको छ।
चालु आर्थिक वर्षका लागि नयाँ आवेदन पनि खुलाइएको परशुराम नगरपालिकाले जनाएको छ। नगरप्रमुख भरत बडायर जोशीका अनुसार नगरक्षेत्रभित्र बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीले एसईई वा सोभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र धितो राखेर ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।