सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा खेलाडीमाथि कुटपिट

घाइते करन पालको धनगढीमा उपचार गरिँदै। तस्बिरः सामाजिक सञ्जाल
घाइते करन पालको धनगढीमा उपचार गरिँदै। तस्बिरः सामाजिक सञ्जाल
२०८२ मंसिर २०, ०८:३८

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ।

बेलौरी नगर खेलकुद समितिको आयोजनामा यही मङ्सिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० का फुटबल खेलाडी करन पालमाथि कुटपिट भएको हो।

वडा नम्बर १ र १० बिच चलेको सेमिफाइनलको खेल प्रतियोगिताका बिच ‘हेण्ड’ बलको विषयलाई लिएर विवादित बनेपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए। 

कुटपिटबाट पालको टाउको, नाक, आँखा, अनुहार र शरीरमा चोट लागेको उनले बताए। पालको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए। खेलाडीमाथि सामूहिक रूपमा कुटपिट भएपछि वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता प्रभावित बनेको छ। खेलाडीहरू पालको उपचारका लागि गएपछि केही दिनका लागि खेल स्थगित गरिएको आयोजकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस