सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स खरिद

२०७६ साउन २२, ०६:४८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स भने खरिद गरेको छ। प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड २५ लाखमा १६ वटा सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको हो। भन्सार छुट भएपछि ३९ लाखका दरले ’बी ग्रेड’ का एम्बुलेन्स खरिद गरिएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। 
‘एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘हस्तान्तरणमा अझै केही महिना लाग्ने देखिएको छ, हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछ।’ उनका अनुसार दशैँ भन्दा अगाडी नै एम्वुलेन्स वितरण हुने छ।  
एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतका सुबिधा रहेको सामाजिक विकास मन्त्रलायका सचिव गोगनवहादुर हमालले बताए। ‘एम्वुलेन्समा अनिवार्य स्वास्थ्यकर्मी पठाउने व्यवस्था समेत हुने छ,’ उनले थपे, ‘सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ १६ वटा एम्वुलेन्स खरिद भएपछि स्वास्थ्य सेवामा सुधार हुने छ।’ 
मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन्। त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुनेछ।

कमेन्ट लोड गर्नुस