मुुख्यमन्त्री शाहः चुनावी सुरक्षाका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार धनगढीमा आयोजित उच्चस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा सरकार तत्पर रहेको उल्लेख गरे।
मुख्यमन्त्री शाहले संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रदेश सरकारको तयारीको चर्चा गर्दै भने, “मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नुपर्छ। संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुन्छ।”
उनले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको र सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको पनि बताए।
यो गोष्ठी गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो। फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारी र रणनीति केन्द्रित यो कार्यक्रममा संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीको पनि उपस्थिति रहेको थियो।