सीमा सुरक्षामा ध्यान दिन भन्दै विश्व हिन्दू परिषद्ले बुझायो ज्ञापनत्र
धनगढीः नेपाल–भारत खुला सीमा तथा क्षेत्रीय सुरक्षा परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा सीमा सुरक्षालाई कडाइका साथ सुदृढ गर्नुपर्ने माग गर्दै विश्व हिन्दू परिषद् डडेल्धुराले सरकारको ध्यानाकर्षण गराएको छ।
परिषद्ले सीमा क्षेत्रबाट अवैध आप्रवासीलाई मुलुकभित्र प्रवेश गर्न नदिन प्रमुख जिल्ला अधिकारफ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
विभिन्न जिल्लाबाट प्राप्त भौगोलिक तथा जनसांख्यिक परिवर्तनसम्बन्धी सूचनाले सम्भावित अवैध आवतजावत बढ्न सक्ने संकेत गरेको भन्दै सम्बन्धित निकायलाई सतर्कता आवश्यक रहेको ध्यानाकर्षण पत्रमार्फत बताइएको छ।
यस्तै, केही स्थानमा सार्वजनिक कार्यक्रम तथा धार्मिक गतिविधिका क्रममा उत्पन्न तनाव, स्थानीय प्रशासनले लागू गर्नुपरेको निषेधाज्ञा तथा समुदायबीचको संवेदनशीलताको कारण सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्व हिन्दू परिषद्ले सीमा निगरानी तथा स्क्रिनिङ प्रक्रिया कडा पार्न आग्रह गरेको छ। यस्तै, अवैध रूपमा बसोबास गरेका व्यक्तिको पहिचान र कानुनी प्रक्रिया अघि बढाउन, नेपाललाई अवैध गतिविधिको आश्रयस्थल बन्न नदिन नीतिगत तथा व्यवहारिक कदम तत्काल लागू गर्न, जनसंख्या तथा बसोबाससम्बन्धी वास्तविक तथ्यांक छानबिन गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा सामाजिक सद्भाव, स्थायित्व र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै राज्य संयन्त्रबीच समन्वय बढाउन आग्रह गरिएको छ।