सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालन

२०८२ मंसिर १५, ०४:३६ खबर संवाददाता

बैतडी:  जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको व्यवस्थापनमा, जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको समन्वयमा ब्लड बैंक सेवा सुरु गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। यसअघि आकस्मिक रक्त सञ्चार केन्द्रमात्र रहेको बैतडीमा अब मिनि ब्लड बैंक सञ्चालनमा आएसँगै रगतको आवश्यकता परेपछि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अब अस्पतालमै ब्लड बैंकमार्फत आवश्यक रगत उपलब्ध गराइने अस्पतालले जनाएको छ।

मिनि ब्लड बैंक सञ्चालनका लागि दशरथचन्द नगरपालिकाले एक स्वास्थ्यकर्मी खटाएको छ भने आवश्यक सामग्री र उपकरणहरू जिल्ला अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पन्तले बताए। आइतबार आयोजित एक कार्यक्रममा दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, उपप्रमुख कौशिला चन्द, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको उपस्थितिमा मिनि ब्लड बैंकको उद्घाटन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस