सुदूर नेपाललाई विश्वसँग जोड्दै

लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७६ साउन २२, ०३:१४ खबर संवाददाता

प्रतिनिधिसभाको शून्य समयमा सुनसरी, धरान उपमहानगरपालिकामा घरैपिच्छे डेंगुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेंगुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकाले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन्।

सांसदहरु राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा डुबानको समस्याका कारण धेरै मानिस घरबारविहीन भएको भन्दै तिनीहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्न आग्रह गरे। सांसद महेश्वरजंग गहतराजले तराईमा वर्षै्पिच्छे डुबानका कारण ठूलो धनजनको क्षति भएको हुँदा सहरी विकास मन्त्रालयले डुबानमुक्त घरका नक्सा बनाइ डुबानमुक्त घर निर्माण गर्नुपर्ने सुझाव दिए।

सांसद रामकुमारी झाँक्रीले सरकारी अस्पतालभन्दा गैरसरकारी अस्पतामा मानिसको अकालमा मृत्यु भइरहेको र मानिसको जीवनजस्तो अमूल्य चीजलाई लापरबाही गर्ने निजी अस्पतालका डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद महेश बस्नेतले बनेपा–सिन्धुली सवारी यात्रा गर्ने दोस्रो मुख्य सडक भएको हुँदा उक्त सडकलाई ६ लेनको बनाउने विषयमा उचित चासो राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको विभिन्न स्थान सुक्खाग्रस्त भएर नागरिक निकै आक्रान्त भएको हुँदा दीर्घकालीनरुपमा स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए। सांसद रंगमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन्। सांसद राजेन्द्रप्रसाद गौतमले संखुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नस्ट भएकाले पुनः जग्गा नाप्ने व्यवस्था गर्न माग गरे। रासस

कमेन्ट लोड गर्नुस