मालपोत कार्यालय कैलालीको परिसरमा जताततै फोहरैफोहर
धनगढीः मालपोत कार्यालय कैलालीको कार्यालय परिसरमा जताततै फोहरैफोर फालिएको छ। कार्यालय परिसरमा पुराना फर्निचर तथा विभिन्न किसिमको फोहरमैला जथाभावी फालिएको छ।
सबैभन्दा बढी सेवाग्राही आउने मालपोतमा कार्यालयको लेखनदास बस्ने क्षेत्र तथा कार्यालय वरिपरि र कार्यालयको कोठाहरुमा समेत फोहरमैलाको उचित व्यवस्थापन नगरेको पाइएको हो।
कार्यालय परिसरमा प्लास्टिकजन्य फोहर, पानीको खाली बोतल, गुट्खाका खाली पाकेट, सिसा तथा अन्य कुहिने र नकुहिने फोहर जथाभावी विसर्जन गरिएको पाइएको छ।
मालपोत कार्यालयसँगै जोडिएको नापी कार्यालय परिसर सफा भए पनि मालपोत कार्यालय परिसर भने फोहरको डम्पिङ साइट झै देखिएको कार्यालय परिसरमा भेटिएका सेवाग्राहीले बताए। कार्यालयसँगै जोडिएको सडक क्षेत्र सफा भए पनि कार्यालयको गेटदेखि नै जताततै फोहर नै फोहर देख्न सकिन्छ।
यो विषयमा मालपोत कार्यालय प्रमुख प्रेमबहादुर दौल्यालसँग कुराकानी गर्दा उनले जेन्जी आन्दोलनपछि फोहर थुप्रिएको बताए। एक महिना अगाडि फोहरमैला उठाउने कार्ड बनाए पनि नगरपालिकाले समेत फोहर उठाउने गाडी नपठाएको दौल्यालको दाबी छ।
यता धनगढी उपमहानगरपालिकाले भने मालपोत कार्यालय भएको क्षेत्रबाट नियमित फोहरमैला उठाउने काम भएको बताएको छ। फोहर उठाउने गाडी जाँदा कार्यालयले फोहर संकलन गरेर नदिएकाले समस्या भएको उपमहानगरपालिकाको सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए।
मालपोत कार्यालयले लामो समयदेखि फोहरमैला वर्गीकरण नगरेरै थुपारेकोले वर्गीकरण नगरिएको फोहर उठाउन समस्या भएको फोहरमैला उठाउने जिम्मा पाएको कम्पनीले भनेको अवस्थीले बताएका छन्। उनले यो विषयमा मालपोत कार्यालय र ठेकेदार कम्पनीसँग बुझेर आवश्यक सहजीकरण गरिने बताएका छन्।
मालपोत कार्यालयले धेरै वर्षदेखि कार्यालय परिसरमा फोहर थुपार्दै आएको र नियमित प्रक्रियाबाट फोहर उठाउन समस्या भएको बताइएको छ। केही दिन अगाडि मात्रै फोहरमैला संकलनको सदस्यता लिएको कार्यालयको वर्षौ जम्मा गरेको फोहर उठाउन छुट्टै शुल्क लाग्ने कम्पनीले बताएको छ। 'कार्यालयले दुई वर्षसम्म फोहरमैलाको कार्ड बनाएन। अहिले मात्रै कार्ड बनाइएको छ। तर पुरानो फोहर धेरै छ। गाडी गएको बेला कार्यालयले फोहर नदिने गरेको फोहर उठाउने ठेक्का पाएको नन्दादेवी सेवा केन्द्रका सञ्चालक हस्तबहादुर शाहले बताए।