सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर गोदावरी-९ का किसान

२०८२ मंसिर १४, ०४:४२ खबर संवाददाता

धनगढी: गोदावरी नगरपालिका–९ सेहरीका मिथुन चौधरीको अधिकांश समय तरकारी बारीमै बित्छ । बिहानैदेखि उनी बारीमा व्यस्त देखिन्छन् । पछिल्लो समय उनी तरकारी खेतीमार्फत आर्थिक रुपमा सशक्त बनेका छन् । चौधरीले बारीमा खुर्सानी, बन्दा, आलु, काउली र गोलभेडाको व्यावसायिक खेती गरिरहेका छन् ।

प्लस टु अध्ययन पूरा गरेका चौधरीले १५ कठ्ठा जमिनमा २०७३ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार गत वर्ष मात्र तरकारी बिक्रीबाट १३ लाख रुपैयाँ आम्दानी भएको थियो । पहिले गहुँ र धानखेती हुने उनको बारी अहिले तरकारी उत्पादनको मुख्य स्रोत बनेको छ । उनले तरकारीबाट आएको आम्दानीले ११ जनाको परिवार सहजै पालिन थालेको र भाई मण्डल चौधरीलाई जेटिए अध्ययन गराइरहेको बताए ।

चौधरीले विषादीरहित अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएको तरकारी उनी मोटरसाइकलमार्फत धनगढी र अत्तरिया बजारमा बिक्री गर्छन् । ७ कठ्ठा खेतमा आलु लगाएका उनले आलु निकालिसकेपछि प्याज खेतीको तयारी गरिरहेका छन् ।

सोही गाउँका आलाराम चौधरीले पनि एक विघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । पहिले आफ्नै परिवारका लागि मात्र तरकारी उत्पादन गर्ने उनी व्यावसायिक खेतीतर्फ उन्मुख भएपछि आर्थिक अवस्थामा सुधार आएको बताउँछन् । अत्तरिया र धनगढी बजारमा तरकारी बिक्री गर्दै आएका उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए । अहिले उनको बारीमा खुर्सानी, बन्दा, आलु, काउली, बेसार र गोलभेडा उत्पादन भइरहेको छ ।

मिथुन र आलारामसहित १५ जना किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्दै आएका छन् । न्यु मनकामना कृषक समूह गठन गरेर उनीहरूले सामूहिक रूपमा खेती प्रणाली अघि बढाए पनि उत्पादन व्यक्तिगत रूपमा नै लिइन्छ । यसले गाउँका किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेको समूहले जनाएको छ ।

न्यु मनकामना कृषक समूहका अध्यक्ष डमरु रानाका अनुसार २०८० सालमा समूह स्थापना भएपछि किसानहरू आत्मनिर्भर बन्न थालेका छन् । गत वर्ष ६ कठ्ठा जमिनमा आलु र टमाटर बिक्री गरेर आफ्नो २ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । पहिले परिवारका लागि मात्र तरकारी लगाइने प्रचलन अहिले व्यावसायिक खेतीमा रूपान्तरण भएको उनको भनाइ छ ।

समूहमा आवद्ध किसानले मासिक ३०० देखि ५०० रुपैयाँसम्म बचत गर्दै आएका छन् । यसरी जम्मा भएको रकम समूहको खातामा १८ लाख पुगेको अध्यक्ष रानाले बताए । समूहले आवश्यक परेका किसानलाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म विनाधितो ऋण उपलब्ध गराउँदै आएको छ ।

दुई वर्षअघि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराले समूहलाई पावर टिलर, बोरिंग, मोटर, हजारी, क्रेट्स लगायतका सामग्री खरिदका लागि २२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको अध्यक्ष रानाले बताए । आवश्यक उपकरणका साथै ग्रीन हाउस, बीउ तथा तरकारी खेतीसम्बन्धी तालिम पाएपछि किसान थप उत्साहित भएर व्यावसायिक तरकारी उत्पादनमा लाग्न प्रेरित भएको समूहको भनाइ छ ।

कमेन्ट लोड गर्नुस