पञ्चेश्वर गाउँपालिका अध्यक्षले पार्टी परित्याग
धनगढी: नेकपा एमालेको ११औं महाधिवेशनका लागि बैतडीमा भएको प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ। सर्वसम्मतको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनी एमाले प्रदेश सल्लाहकार समिति सदस्यसमेत हुन्।
चन्दले पार्टी जिम्मेवारी लिलाधर भट्ट, बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै आफूले एमाले परित्याग गरेको सार्वजनिक गरेका हुन्। लिलाधर भट्ट एमालेका केन्द्रीय सदस्य हुन् भने बिना भट्ट गाउँपालिका उपाध्यक्ष र पुजारा वडाध्यक्ष रहेका छन्।
दुईदुई पटक—२०७४ र २०७९ सालमा—एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा विजयी भएका चन्दले यसपटक आफूलाई महाधिवेशन प्रतिनिधि बन्नै नदिएको आरोप लगाएका छन्। उनका अनुसार लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले प्रतिनिधि बन्न रोकेका हुन्। सहमतिका नाममा आफ्नो उम्मेदवारी हटाइएको उनले दाबी गरे।
‘पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले धेरै दिक्क बनाएको थियो,’ चन्दले भने, ‘निरङ्कुश नेतृत्वविरुद्ध समय–समयमा आवाज उठाएँ तर अन्ततः सकेन।’
यद्यपि आन्तरिक विवाद तीव्र भइरहे पनि एमाले बैतडीले १५ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको दाबी गर्दै शनिबार नै आधिकारिक सूची सार्वजनिक गरेको थियो।