सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्यान नम्बर लिनेको घुईचो

२०७६ साउन २२, १२:०६ कमल सावद

सरकारले साउन १ गते देखि लागु गरेको नयाँ कर नीतिका विषयमा अन्यौलता कायमै रहे पनि आन्तरिक राजश्व कार्यालय कैलालीमा भने प्यान नम्बर लिनेहरुको घुईचो लाग्न थालेको छ। सरकारले नयाँ कर नीति लागु गर्दै संघसंस्था मात्र नभई व्यक्तिलाई समेत प्यान नम्बर अनिवार्य गरेपछि आन्तरिक राजश्व कार्यालय कैलालीमा सेवाग्राहीको भीडभाड बढेको हो। २० दिनको अवधीमा आन्तरिक राजश्व कार्यालय धनगढीबाट मात्रै झण्डै आठ हजार जनाले प्यान नम्बर लिएका छन्। 

आन्तरिक राजश्व कार्यालय धनगढीमा अहिले विभिन्न संघसंस्था, व्यापारिक फार्म सहित व्यक्तिहरु समेत गरेर झण्डै आठ हजार प्यान नम्बर दर्ता भएका छन्। हाल सम्म सात हजार ९१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिएका छन् भने साठ सय ५६ व्यापारीले पनि नयाँ प्यान नम्बर लिईसकेका आन्तरिक राजश्व कार्यालय धनगढीका निमित्त प्रमुख काशिराम पौडेलले बताए।  

अन्यौलताका बिच पनि प्यान नम्बर लिन विभिन्न स्थानबाट धनगढी पुगेका सेवाग्राहीले भने सेवा छिटो छरितो नहुँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। बझाङका जयबहादुर रावलले दुई दिन सम्म आन्तरिक राजश्व कार्यालयमा लाईन लागेपनि अहिले सम्म पालो नपाएको गुनासो गरे। विगतमा जस्तै पहुच भएका र आर्थिक लेन-देन गर्न सक्नेको काम चाँडो हुने भएपनि आम नागरिकको काम दुई दिन सम्म नहुने गुनासो सेवाग्राहीको छ। धनगढी तारानगरका भक्त ताम्राकारले आन्तरिक राजश्व कार्यालयले एउटै कामका लागि दुई दिन कुराउने गरेको गुनासो गरे। 

कर नीतिको बारेमा कर्मचारीलाई पनि ज्ञान नभएकाले झनै अन्यौलता थपिएको उनीहरुको तर्क छ। तर आन्तरिक राजश्व कार्यालय धनगढीका निमिक्त प्रमुख पौडेलले नयाँ प्रविधि सहज रहेको प्रतिकृया दिएका छन्। नेपालको जुनसुकै क्षेत्रबाट पनि स्थायी लेखा नम्बर लिन सकिने अनलाईन प्रविधि रहेको उनले बताए। नयाँ नीति अनुसार अब सरकारी सेवा सहित विभिन्न संघ-संस्थामा कार्यरत कर्मचारीलाई तलव भत्ता भुक्तानी दिदा समेत अनिवार्य स्थायी लेखा नम्बर हुनुपर्नेछ। यो नयाँ ऐनले कर छलीमा कमि ल्याउने सरकारको दावी छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस