प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय अभियान चलाउने
धनगढीः प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले राष्ट्र निर्माणका लागि आवश्यक मूल्य–मान्यताको विकास र जिम्मेवार नागरिक तयार पार्ने उद्देश्यसहित ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रिय अभियान–२०८२ औपचारिक रूपमा सुरु गरेको छ।
विद्यार्थी, युवा तथा आम नागरिकमा सकारात्मक सोच, अनुशासन, नैतिकता र राष्ट्रप्रेमको भावना प्रवर्द्धन गर्ने लक्ष्यसहित परिषद्ले देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
परिषद्को भनाइअनुसार हाल देशमा देखिएको राजनीतिक अस्थिरता, निराशा, अविश्वास, भ्रष्टाचार तथा सामाजिक नकारात्मकताका बीच जिम्मेवार नागरिक विकास नगरी राष्ट्रको समृद्धि र स्थिरता सम्भव नहुने भएकाले अभियानले नागरिकका आचरण तथा सकारात्मक क्रियाशीलतालाई केन्द्रमा राख्दै अघि बढाइनेछ।
अभियानअन्तर्गत विद्यार्थी तथा युवाबाट सुझाव संकलन गर्ने ‘राष्ट्रका लागि संकल्प’ कार्यक्रम, क्याम्पस र कलेजमा सकारात्मक संवाद श्रृङ्खला चलाउने, युवा उत्प्रेरणा कार्यक्रम ‘नागरिक कर्तव्य के हो ?’ शीर्षकमा साहित्य, कविता र पोस्टर प्रतियोगिता, तथा ‘नागरिक गोष्ठी’ जस्ता गतिविधि देशभर सञ्चालन गरिने परिषद्ले जनाएको छ।
यी गतिविधिमार्फत सामाजिक सद्भाव, सकारात्मक विषयप्रतिको आकर्षण, एक–अर्काप्रतिको सहयोगभाव, कर्तव्यबोध तथा राष्ट्रप्रतिको प्रतिबद्धता बलियो बनाउने अपेक्षा परिषद्का पदाधिकारीहरूले व्यक्त गरेका छन्।
कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउन पत्रकारको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै परिषद्ले तथ्य, सूचना र सन्देश प्रसारणमा सञ्चारकर्मीको साथ रहने विश्वास व्यक्त गरेको छ।