सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एघार विद्यालय समायोजनसँगै तह मिलान

२०८२ मंसिर १२, ०९:५१ खबर संवाददाता

कञ्चनपुरः विद्यार्थी नियमित रूपमा घट्दै गएपछि कञ्चनपुरका ११ सामुदायिक विद्यालय समायोजन गरिएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका अनुसार, हालसम्म जिल्लामा ११ सामुदायिक विद्यालय समायोजन गरिएका हुन् भने झन्डै तीन दर्जन विद्यालयमा तह मिलानको प्रक्रिया अगाडि बढाइएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा चार वटा आधारभूत विद्यालय समायोजन गरिएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका अनुसार, शुक्लाफाँटा नगरपालिका–१२ स्थित मिलन आधारभूत विद्यालयनजिकैको शिव शक्ति माध्यमिक विद्यालय कालागौडीमा समायोजन गरिएको छ।

यसै गरेर वडा नम्बर १२ स्थित सरस्वती आधारभूत विद्यालय सिद्धनाथ आधारभूत विद्यालयमा समायोजन गरिएको छ। वडा नम्बर १० स्थित त्रिमूर्ति आधारभूत विद्यालयलाई कृष्ण माध्यमिक विद्यालयमा र वडा नम्बर ७ स्थित शान्ति आधारभूत विद्यालयनजिकैको धर्मजनता माध्यमिक विद्यालयमा समायोजन भएको हो। 

विद्यार्थी घट्न थालेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरूप यी विद्यालय समायोजन गरिएको शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले बताए। उनका अनुसार, दुई विद्यालयमा भने तह मिलान गरिएको छ। वडा नम्बर १ स्थित जनचेतना आधारभूत विद्यालय र वडा नम्बर ७ स्थित भवानी आविमा तह मिलान गरिएको हो। यी दुई विद्यालय यसअघि कक्षा ५ सम्म सञ्चालनमा रहेकोमा हाल कक्षा तीनसम्म मात्रै सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए। यसै गरेर भवानी आविमा विद्यार्थी न्यून भएपछि आगामी आवमा समायोजनका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए।

यसैगरी कृष्णपुर नगरपालिकामा रहेका चार आधारभूत विद्यालय पनि समायोजन गरिएका छन्। वडा नम्बर ६ स्थित बालमुक्ति आधारभूत विद्यालयनजिकैको महाकाली माध्यमिक विद्यालयमा, वडा नम्बर ५ स्थित वनदेवी आवि सयपत्र आविमा समायोजन गरिएका छन्। यसै गरेर वडा नम्बर २ स्थित सत्यवादी आवि उदय माविमा र वडा नम्बर ४ स्थित सिद्धनाथ आधारभूत विद्यालय किचाइ पनि नजिकैको समैजी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। विद्यार्थी नै नभएपछि यहाँका चार विद्यालय समायोजन गर्नु परेको कृष्णपुर नगरपालिकाको शिक्षा शाखाले बताएको छ। हाल कृष्णपुर नगरपालिकामा ३१ सामुदायिक विद्यालय रहेका छन्। 

जिल्लाको वेदकोट नगरपालिकामा रहेका दुई आधारभूत विद्यालय पनि समायोजन गरिएका छन्। यहाँको शान्ति प्राथमिक विद्यालयलाई शारदा माध्यमिक  विद्यालयमा र शिव प्राथमिक विद्यालयनजिकैको शान्ति निकेतन आविमा समायोजन गरिएको छ। वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज भट्टले विद्यार्थी न्यून भएपछि समायोजन गरिएको बताए। यसै गरेर वेदकोटमा दुई विद्यालयको तह मिलानको प्रक्रिया अगाडि बढाइएको शाखा प्रमुख भट्टले बताए।

दोधारा चाँदनी नगरपालिकाले हाल एक आधारभूत विद्यालय समायोजन गरेको छ। पालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँको महामाया आवि हाल भानु माविमा समायोजन गरिएको बताए। हाल २२ सामुदायिक विद्यालय रहेको दोधारा चाँदनीमा दुई विद्यालयमा भने तह मिलानको प्रक्रिया अगाडि बढाइएको उनले बताए।

यहाँको लालझाँडी गाउँपालिकाले ५० जनाभन्दा विद्यार्थी रहेका विद्यालयको समायोजनको प्रक्रिया अगाडि बढाइएको जनाएको छ। पालिकाका शिक्षा शाखा प्रमुख सिद्दराज भट्टले हाल दुई सामुदायिक विद्यालय समायोजनको प्रक्रियामा रहेको बबताए। ३२ सामुदायिक विद्यालय रहेका पुनर्वास नगरपालिकाले विद्यालयको तह मिलानको काम भइरहेको जनाएको छ। शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार कक्षा आठसम्म सञ्चालनमा रहेका दुई सामुदायिक विद्यालयलाई ६ कक्षासम्म, कक्षा ७ सम्म सञ्चालन भइरहेका तीन विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ।

यसैगरेर यहाँको बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशी अनुसार कक्षा ८ सम्म सञ्चालनमा रहेका वडा नम्बर १ स्थित सिद्दनाथ आधारभूत विद्यालय, वडा नम्बर २ स्थित शैलेश्वरी आधारभूत विद्यालय र राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयको तह मिलान गरिएको छ। ती विद्यालय हाल कक्षा ५ सम्म मात्रै सञ्चालनमा रहेका छन्। 

यसै गरेर कक्षा ५ सम्म सञ्चालनमा रहेका तीन विद्यालयको पनि तह मिलान गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताए। उनका अनुसार वडा नम्बर ५, झिलमिलास्थित कालिका आधारभूत विद्यालय, वडा नम्बर २ स्थित त्रिशूली आधारभूत विद्यालय र सोही वडामा रहेको कञ्चन आधारभूत विद्यालयलाई कक्षा ३ सम्म झारिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गएपछि विद्यालयको तह मिलान गर्नु परेको पालिकाले जनाएको हो।

५७ सामुदायिक विद्यालय रहेका भीमदत्त नगरपालिकामा झन्डै तीन दर्जन विद्यालय समायोजन र तह मिलानको प्रक्रियामा रहेका जनाइएको छ। पालिकाका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले यहाँका १८ देखि २० सामुदायिक विद्यालयको समायोजन र तह मिलान गर्नुपर्ने अवस्था रहेको बताए। हाल केही विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नमान्दा समस्या देखिएकाले जसका लागि सबै पक्षसँग वार्ता भइरहेको उनले बताए।

यहाँको बेलौरी नगरपालिकाले एक दर्जन विद्यालयको समायोजन र तह मिलानका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ। कञ्चनपुरस्थित सामुदायिक विद्यालयमा विद्यार्थी निरन्तर रूपमा घट्दै गएको छ। संस्थागत विद्यालयमा आकर्षण बढ्नु तथा प्रजनन दरसमेत घट्दै जाँदा सामुदायिक विद्यालय रित्तिने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।   

कमेन्ट लोड गर्नुस