बझाङको चैनपुर–ताक्लाकोट सडक भासिँदा यातायात अवरुद्ध
बझाङ: चैनपुर–ताक्लाकोट सडक तलकोट गाउँपालिका–१, सुनिकोटमा भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सदरमुकामबाट करिब ८ किमि उत्तर रहेको पक्की सडक करिब ८ मिटर भासिँदा उत्तरी क्षेत्रमा चल्ने सवारी साधन रोकिनुका साथै नजिकका केही घरहरू जोखिममा परेका छन्।
सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरन्द्र यादवका अनुसार सडक सतहभन्दा झन्डै ७ मिटर तल धसिएको देखिएको छ। उनले अस्थायी मर्मत कार्य सुरु भइसकेको र शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए। स्थायी समाधानका लागि ठूलो पर्खाल निर्माण गर्न अध्ययन भइरहेको छ।
यो सडक बझाङलाई चीनको ताक्लाकोटसँग जोड्छ र करिब ४० किमिसम्म यातायात चल्ने गर्छ, जसबाट तलकोट–साइपालका स्थानीय तथा साइपाल क्षेत्र जाने पर्यटक लाभान्वित हुन्छन्।