सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा क्युएए प्रमाणिकरणका लागि आयोगको अनुगमन

२०८२ मंसिर १०, ०४:१७ खबर संवाददाता

कैलाली: कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को टोलीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्रका लागि अन्तिम चरणको अनुगमन भइरहेको छ। मंगलबार आयोगको पीआरटी टोलीले क्याम्पसबारे प्रारम्भिक जानकारी लिएको हो। टोलीले बुधबारदेखि मंसिर १३ गतेसम्म प्रत्यक्ष निरीक्षण गर्दै विस्तृत मूल्याङ्कन गर्नेछ।

पीआरटी संयोजक प्रा. डा. तीर्थ राज खनियाका अनुसार समयअनुसार क्वालिटीका मापदण्ड बदलिने भएकाले क्वालिटी एसुरेन्स चुनौतीपूर्ण छ। क्याम्पसले क्युएएप्रति चासो देखाएकाले प्रक्रिया अघि बढेको उनले बताए। उनले कागजपत्र पुगे पनि थप स्थलगत अनुगमन हुने र क्युएए केवल प्रमाणपत्रका लागि नभई दीर्घकालीन सुधारका लागि हो भन्ने स्पष्ट पारे। क्याम्पसको भौतिक संरचनासहित विभिन्न क्षेत्रमा अपेक्षाभन्दा राम्रो सुधार देखिएको उनको भनाइ छ।

खनियाले अहिले उच्च शिक्षामा प्रतिस्पर्धा बढेको उल्लेख गर्दै विश्वविद्यालयहरूले विश्वव्यापी मापदण्डअनुसार अघि बढ्नुपर्ने बताए।

पीआरटी सदस्य राम जी गौतमले क्याम्पसले प्रस्तुत गरेको सामग्रीको प्रत्यक्ष अवलोकन गरिने उल्लेख गर्दै क्युएए पाउनु सुशासन र पारदर्शिता सुनिश्चितताको सूचक भएको बताए। क्युएए ८ वटा मापदण्ड पूरा गरेर मात्र पाइनु, र त्यसलाई निरन्तरता दिन झनै चुनौतीपूर्ण हुने धारणा पनि उनले राखे।

दुर्गालक्ष्मी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐरले २०६३ सालमा स्थापना भएको क्याम्पस धेरै मिहेनतपछि अहिलेको अवस्थासम्म पुगेको बताए। उनले पीआरटी टोलीलाई आवश्यक कागजपत्र बुझाइसकिएको र भौतिक अनुगमनका लागि धन्यवाद व्यक्त गरे। क्युएएका मापदण्ड पूरा गर्नेमा उनले विश्वास व्यक्त गरे।

क्याम्पसमा हाल स्नातक तहमा १,२७७ विद्यार्थी र स्नातकोत्तर तहमा १५९ विद्यार्थी अध्ययनरत छन्। क्याम्पसमा ३२ शिक्षक र १० कर्मचारी कार्यरत छन्। शिक्षक सत्र २०१÷०२ मा क्याम्पसको उत्तीर्ण दर ७८ प्रतिशत रहेको विवरण सार्वजनिक गरिएको छ।
 

कमेन्ट लोड गर्नुस