सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि तथा फलफूल सामग्रीको उत्पादन भन्दा बजारिकरण चुनौतीपूर्ण

२०८२ मंसिर ८, ०३:४३ खबर संवाददाता

अत्तरियाः किसानहरुले कृषि तथा फलफूल सामग्रीको उत्पादन भन्दा बजारिकरण चुनौतीपूर्ण रहेको बताएका छन्।  कञ्चनपुरका किसान सुरेन्द्र चौधरीले १२ बिगाहामा केरा खेती गर्दै आएका छन् । उनले केरा सँगै बेर्ना पनि उत्पादन गर्दै आएका छन् । तर, केरा उत्पादन गर्न जति सहज छ त्यो भन्दा ठुलो चुनौती उनले केराको बजारीकरणका लागि भोग्दै आएको उनले बताए। 

आइतबार हेफर इन्टरनेशनल नेपाल कार्यक्रमको सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठकमा बोल्दै उनले अहिले बजारमा २० रुपैयाँ दर्जन केरा दिइरहेको तर, बजारमा किन्न जाँदा १ सय रुपैयाँ दर्जन रहेको उल्लेख गरे।  यसको नियन्त्रण किसानले गर्न नसक्ने र बिचौलियाले मात्रै कमाउने बजारीकरण भएकोले उनको भनाई छ। उनले उत्पादन धेरै भएर बजार कम हुने अवस्था केरा प्रशोधन गरेर अन्य बस्तु बनाउनु पर्ने बताए । केराको चिप्स, अल्कोहल लगायतका बस्तु बनाउन सकिने बताए । उनले कति उत्पादन आवश्यक हो, कति उत्पादनको कसरी बजारीकरण गर्ने भन्ने कुरामा राज्यले स्पष्ट हुनुपर्ने उनले बताए ।

परामर्श बैठकमा बोल्दै अधिकांश वक्ताहरूले अहिलेको समयमा कृषि उत्पादन भन्दा पनि बजारीकरणमा चुनौती रहेको बताएका थिए । हेफर कार्यक्रमको पुनरावलोकन गर्दा कृषि उत्पादन भन्दा बजारीकरण, बस्तु उत्पादनमा जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरूको जोड थियो ।

कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीर्घ नारायण कोइरालाले किसानको सफलता नै सफल बजारीकरण भएको बताए । उनले नेपालका किसानले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था आउँदा पनि विदेशबाट आयात नरोकिँदा किसान मारमा परिरहेको बताए ।

विभिन्न नाकाहरूबाट भारतमा उत्पादन भएको कृषि बस्तु नेपालका पहाडी जिल्लामा पुगिसकेको हुन्छ तर यहाँका किसानले दूध वा फलफूल  सडकमा फाल्नुपर्ने अवस्था रहेको उनले बताए। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले अब कृषिको विकास गर्नका लागि उत्पादन मात्रै नभएर बजारीकरणमा जोड दिनुपर्ने बताए । उनले अहिलेको समयमा बजार पाएमा उत्पादन आफै बढ्ने बताए । उनले उत्पादनलाई बजारीकरण गर्न बस्तु उत्पादन र लेबलीङमा सरकारले जोड दिइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव विमल प्रसाद बरालले संघसस्थाले काम गर्दा नेपाल सरकारले लिएको नीतिलाई ध्यान दिनुपर्ने बताए । कृषि बस्तुलाई उत्पादन भएको क्षेत्रसँग जोडेर प्रवद्र्धन गर्दा सहज हुने उनको भनाइ थियो। 

उत्पादनको ब्राण्डिङ, प्याकेजिङमा पनि जोड दिनुपर्ने उनको भनाई छ।  गर्दा यसले मूल्य पाउँछ । “ब्राण्डिङ, प्याकेजिङ राम्रो गर्दा मात्रै ५ देखि ४० प्रतिशत सम्म मूल्य वृद्धि हुन्छ ।” उनले भने। उत्पादन बाहिर निर्यात गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना गर्नुपर्ने सचिव बरालले बताए। 
 

कमेन्ट लोड गर्नुस