सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

२०८२ मंसिर ८, ०१:५३ रासस

काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  
 
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात  विकेटको क्षतिमा एक सय ३५ रन बनायो। विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे। यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए। प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए। यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए। विराटनगरका दुई ब्याटर रनआउट भए। 

    बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए। अनिल साहको कप्तानीमा रहेको  जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ।  

कमेन्ट लोड गर्नुस