बाजुराको बूढीगङ्गा नदीमा पुलको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र
बाजुराः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।
त्रिवेणी नगरपालिका–४ तोलीमा शनिवारदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बूढीगङ्गा नगरपालिकाका र नेपाली काँग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएको हो।
बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको छ। मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको छ।
बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुपर्नेलगायत माग उल्लेख गरिएका छन्।
मुख्यमन्त्री शाहले ज्ञापनपत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेका र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन्।