अछाममा पशुपंक्षी खोप अभियान सुरु
अछाम: अछाममा पशुपंक्षीमा खोप लगाउनका लागि पूर्ण खोप अभियान सुरु भएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजनामा जिल्लाभर शुक्रबारदेखि अभियान सुरु गरिएको हो। अभियान अन्तरगत जिल्लाका १० वटै पालिकाका ९१ वटै वडामा पशुपंक्षीलाई पि.पि.आर, खोरेत, एच.एस.एण्ड वि.क्यू, रानिखेत, बङ्गुरको हैजा तथा अन्य रोग विरुद्धका खोप लगाइने केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी ज्ञानबहादुर थापाले कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार खोप अभियान सुरु गरिएको जानकारी दिए। खोप लगाउने जनशक्ति अर्थात् भ्याक्सिनेटरहरू यसअघि नै नियुक्त गरिसकिएको जनाइएको छ। अभियानको उद्देश्य किसानले पालेका गाईवस्तुहरूलाई निरोगी राख्नु र रोग सङ्क्रमण नियन्त्रण गर्नु रहेको छ।
अभियानको शुभारम्भ पालिका स्तरमा छुट्टा–छुट्टै कार्यक्रम गरी गरिएको थियो। यस अभियानले पशुधनको क्षति न्यूनीकरण गर्ने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने विज्ञहरूले बताएका छन्। जिल्लाभरि रहेका सबै किसानका घरमा पुगेर खोप लगाउने कार्यक्रम तय गरिएको छ भनि पशुसेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख बाल्मीकी जोशीले जानकारी दिए।
खोप अभियान सुरु भएपछि किसानहरू खुसी भएका छन्। आफ्नै गाउँघरमै आएर पशु प्राविधिकहरूले खोप लगाउन थालेपछि किसानहरूले आयोजकप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले खोप लगाउने स्थानमा आफ्ना पालेका गाईवस्तु लिएर आएर खोप लगाउन थालेका छन्। शुल्क तिरेर पनि टाढा जानुपर्ने बाध्यता हटेको र निःशुल्क रूपमा खोप लगाउन सकिनुले किसानहरूलाई हर्षित बनाएको बताइएको छ।