सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजधानीमा एमालेको प्रदर्शन र र्‍यालीले ट्राफिक प्रभावित

२०८२ मंसिर ६, ०३:०४ रासस

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र ¥याली आयोजना गरेको छ। काठमाडौँकेन्द्रित जनसभाका लागि भृकुटीमण्डप र आसपासका क्षेत्रमा पार्टीका कार्यकर्ता र नेता सहभागी भएका थिए।

संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको हो भनि केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनीमार्गबाट रत्नपार्क परिक्रमा गरी भृकुटीमण्डपमा आमसभामा परिणत हुने व्यवस्था गरिएको छ। जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेतले सम्बोधन गर्ने बताइएको छ।

यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्‍याली सम्पन्न गरेको थियो। यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो।

प्रदर्शन र र्‍यालीका कारण उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापनमा चुनौती देखा परेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए कि र्‍यालीका कारण सवारी आवागमनमा समस्या भएको र प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृह मोडबाट डाइभर्सन गरिएको छ।

साथै, र्‍याली टुँडिखेल वरिपरि चल्ने सवारी साधनमा पनि केही प्रभाव पर्न सक्ने भएकाले सहज यात्राका लागि अन्य सडकको प्रयोग गर्न प्रमुख अधिकारीले अनुरोध गरेका छन्।
 

कमेन्ट लोड गर्नुस