ड्रिमर्स कप २०८२ः समूह चरण सम्पन्न, सेमिफाइनलमा सत्यवती, एरिष्टो, वात्सल्य र वेस्टर्न क्रिस्टल भिड्ने
धनगढी धनगढी क्रिकेट एकेडेमी (डिसिए) मैदानमा जारी ड्रिमर्स कप २०८२ को समूह चरण अन्तर्गतका सबै खेल शुक्रबार सम्पन्न भएका छन्। ‘टाइनी क्रिकेटर्स, बिग ड्रीम’ भन्ने नारासहित गो ड्रिमर्सको आयोजनामा भइरहेको प्रतियोगिताको एघारौँ दिन चार खेल सम्पन्न भए।
दिनको पहिलो÷४७औँ खेलमा स्वर्णिम शिक्षा सदनले ज्योति स्कुललाई ३० रनले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको स्वर्णिमले १० ओभरमा ९ विकेट गुमाउँदै ५७ रनको लक्ष्य दिएको थियो। जवाफी क्रममा ज्योति स्कुलले लक्ष्य पछ्याउन नसक्दा स्वर्णिम विजयी भयो। १९ बलमा २० रन र २ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका सहिल धामी ‘प्लेयर अफ द म्याच’ बने।
४८औँ खेलमा एरिष्टो स्कुलले विद्याभुषणलाई ६ विकेटले पराजित ग¥यो। ५० रनको लक्ष्य पाएको एरिष्टोले ९ ओभरमै खेल टुङ्ग्यायो। १९ बलमा ९ रन नटआउट र १ ओभरमा २ रन खर्चेर २ विकेट लिएका सन्देश कुँवर ‘प्लेयर अफ द म्याच’ घोषित भए।
४९औँ खेलमा एभिएनले राइजिङ स्टारलाई ३९ रनले हरायो। एभिएनले १० ओभरमा ८५ रन बनाएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अर्जित विष्टले २ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा ब्याटिङमा ९ बलमा ७ रन जोडे र ‘प्लेयर अफ द म्याच’ बने।
समूह चरणको अन्तिम ५०औँ खेलमा सत्यवती एकेडेमीले ग्लि एकेडेमीलाई १० विकेटले पराजित ग¥यो। ग्लिले दिएको ४५ रनको लक्ष्य सत्यवतीले १५ बलमै पूरा ग¥यो। १५ बलमा ४३ रन प्रहार गर्ने योगेन्द्र विष्ट ‘प्लेयर अफ द म्याच’ बने।
यससँगै समूह चरणका सबै खेल सकिएका छन्। शनिबार हुने सेमिफाइनलमा समूह ‘ए’ बाट सत्यवती एकेडेमी, समूह ‘बी’ बाट एरिष्टो स्कुल, समूह ‘सी’ बाट वात्सल्या विद्या निकेतन र समूह ‘डी’ बाट वेस्टर्न क्रिस्टल एकेडेमी भिड्नेछन्। पहिलो सेमिफाइनल सत्यवती र वात्सल्यबीच हुनेछ।
ड्रिमर्स कप २०८२ का मुख्य प्रायोजक एसपीए कलेज धनगढी रहेका छन्। सहयोगी संस्थामा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छन्। अन्य प्रायोजक तथा पार्टनरमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, ब्रेड बक्स, फोर्टी टेन, वल्र्डलिङ्क, सिपी हस्पिटल तथा ‘ड्रिमर्स कप इमर्जिङ प्लेयर’ स्पोन्सर जीवन स्टिकर समावेश छन्।