सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती लोकमार्ग प्रदेश सरकारको प्रमुख एजेन्डा हो : मुख्यमन्त्री शाह 

२०८२ मंसिर ४, ०४:३५ खबर संवाददाता

बझाङः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती लोकमार्गलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा निरन्तर अघि बढाइरहेको बताएका छन्। 

बिहीवार बझाङका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेती लोकमार्ग निर्माणका लागि आफ्नो निरन्तर पहल जारी रहेको स्पष्ट पारे। 

मुख्यमन्त्री शाहका अनुसार, “नेपाल सरकारका वैदेशिक भ्रमणहरूमा पनि सुदूरपश्चिमको एकमात्र एजेन्डाका रूपमा सेती लोकमार्गलाई उठाउँदै आएको छु” उनले भने, “निर्माण प्रक्रियालाई अघि बढाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत निरन्तर समन्वय भइरहेको छ,” सेती लोकमार्ग प्रदेशको विकास र समृद्धिको मेरुदण्ड हुने उनले बताए। 

कैलाली, डोटी, अछाम, बझाङ हुँदै बाजुरालाई जोडेर ताक्लाकोट सीमा नाकासम्म पुग्ने यो उत्तर–दक्षिण लोकमार्ग रणनीतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, नेपाल सरकारको प्राथमिकता परियोजना भएकाले द्रुतगतिमा निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए। 

अर्काे प्रसङ्गमा मुख्यमन्त्री शाहले भदौ २३ गतेको आन्दोलन सुशासन कायम गर्ने तथा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ भएको स्मरण गर्दै सबै जिम्मेवार तह–स्तर सच्चिनुपर्ने आवश्यकता औँल्याए।  २०४७ र २०६२/०६३ का आन्दोलनपछिका राजनीतिक परिवर्तनले देशले धेरै विकास निर्माणका काम अघि बढाएको पनि मुख्यमन्त्रीले उल्लेख गरे। 

कार्यक्रममा प्रदेश सभा सदस्य तथा आर्थिक मामिला मन्त्री नरेश शाही, प्रदेश सभा सदस्य पदमबहादुर शाहीलगायतको सहभागिता रहेको थियो। बिहीवार नै मुख्यमन्त्री शाहले बझाङ जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित तीनै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।   
 

कमेन्ट लोड गर्नुस