सुदूर नेपाललाई विश्वसँग जोड्दै

नितिश कुमार दशौँ पटक बिहार मुख्यमन्त्री

२०८२ मंसिर ४, ०२:०३ रासस

बिहार: जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार पटना स्थित ऐतिहासिक गान्धी मैदानमा दशौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ ग्रहण गरे। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित एनडिएका प्रमुख नेताहरूको उपस्थिति रह्यो, जसले समारोहलाई विशेष बनायो।

यसअघि पनि यही स्थानबाट २००५, २०१० र २०१५ मा नितिश कुमारले सरकार गठनको घोषणा गरेका थिए। गान्धी मैदान जयप्रकाश नारायणद्वारा १९७४ मा गरिएको ‘पूर्ण क्रान्ति’ आह्वानकै कारण ऐतिहासिक मानिन्छ।

शपथ समारोहमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू तथा एनडिएका शीर्ष नेताहरू सहभागी थिए। प्रदेशका राज्यपाल आरिफ मोहम्मद खान र चिराग पासवान पनि उपस्थित रहे।

बुधबार जेडीयू विधायक दलले नितिश कुमारलाई सर्वसम्मतिले नेता चयन गरेपछि एनडिएले पनि उनीमाथि भरोसा जताउँदै मुख्यमन्त्रीका रूपमा अघि बढाएको हो। भाजपा विधायक दलको नेतृत्व सम्राट चौधरी र विजयकुमार सिन्हाले सम्हाल्नेछन्।

यसपटक सम्पन्न बिहार विधानसभा चुनावमा एनडिएले २४३ मध्ये २०२ सिट प्राप्त गर्दै १५ वर्षपछि पुनः २०० भन्दा बढी सिटको जित दोहो¥यायो। भाजपा ८९, जेडीयू ८५, एलजेपी (राम विलास) १९, हम–सेक्युलर ५ र राष्ट्रिय लोक मोर्चा ४ सिटमा विजयी भए। विपक्षमा आरजेडीसँग २५ र काँग्रेससँग ६ सिट मात्र रहे।

दुई चरणमा सम्पन्न चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो, जुन १९५१ पछि सबैभन्दा धेरै हो। महिला मतदाताको ७१.६ प्रतिशत सहभागिता पुरुष भन्दा उल्लेखनीय रूपमा बढी देखियो।
 

कमेन्ट लोड गर्नुस