कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
कैलाली: कैलाली जिल्लाको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार गरिएको छुट्टाछुट्टै कारबाहीमा लागूऔषधसँगै नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
घोडाघोडी नगरपालिका–६ झलझलिया जंगलबाट ३ ग्राम १ सय ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ६ हजार ८ सय ८० रुपैयाँ नगदसहित दुई जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही नगरपालिका–६ बछुरियाका ३० वर्षीय भिमबहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापा रहेका छन्। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
थप अनुसन्धानका क्रममा भिमबहादुर दमाईको घर तलासी गर्दा प्रहरीले अतिरिक्त ५ ग्राम २ सय ५० मिलिग्राम लागूऔषध बरामद गरेको जनाएको छ।
यसैबीच, गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम १ सय २० मिलिग्राम पदार्थ र १४ हजार ७ सय रुपैयाँ नगदसहित २७ वर्षीय अनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।