सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामामा प्लाष्टिक प्रशोधन उद्योग सञ्चालन

२०७६ साउन २०, ०७:१६ कमल सावद

कैलालीको गौरीगंगा नगरपालिकामा प्रयोगमा आईसकेका प्लाष्टिक प्रशोधन गर्ने उद्योग सञ्चालनमा आएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले गौरीगंगा नगरपालिका वडा नम्बर ४ को राजीपुरमा प्लाष्टिक उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योगले एक पटक प्रयोगमा आईसकेका प्लाष्टिक जन्य वस्तुलाई प्रशोसन गरी विभिन्न रुप दिदै पुनः प्रयोग गर्न मिल्ने वस्तु बनाईने जनाएको छ। 

वैदेशिक रोजगारीबाट फर्किएका कञ्चनपुरको अमर बस्तीका मनिष घिमिरे, कैलालीको मसुरियाका नरबहादुर खाती, घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरका मिन प्रसाद रिजाल र मिनप्रसाद वास्तोलाले गौरीगंगा नगरपालिकाको राजीपुरमा प्लाष्टिक प्रशोधन उद्योग सञ्चालनमा ल्याएका हुन्। २०७५ सालदेखि नै उद्योग सञ्चालनको प्रक्रिया सुरु गरेका उनीहरुले साउन २२ गतेदेखि प्लाष्टिक प्रशोधन गरी निर्माण गरेका विभिन्न वस्तु बजारमा ल्याउने तयारी गरेका छन्।

कैलाली सहित प्रदेशका अन्य जिल्लामा पनि जभाभावी फालिएका प्लाष्टिकलाई जम्मा गरी प्रशोधन गर्ने काम भइरहेको प्लाष्टिक प्रशोधन उद्योगका सञ्चालक मध्येका एक मनिष घिमिरेले बताए। ‘पहिलो चरणमा अहिले उद्योगले टुटफुट भएका तथा प्रयोग गरी फालिएका प्लाष्टिकबाट डोरी बनाईरहेको छ,’ उनले भने, ‘विस्तारै अन्य वस्तुहरु पनि बनाउने तयारी छ।’ अहिले जताततै एक पटक प्रयोगमा ल्याईएका प्लाष्टिकहरु जथाभावी फाल्ने क्रम बढ्दो रहेको बताउँदै उनले सहर बजारसंगै गाउँवस्तीमा पनि यसरी जथाभावी फालिएका प्लाष्टिकहरुले माटोको उर्वराशक्ति, पर्यावरणमा ठुलो ह्रास ल्याईरहेको बताए।

विश्वका लागि नै प्लाष्टिक जन्य फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ। तर वैदेशिक रोजगारीबाट फर्केर १० वर्षका लागि पाँच कठ्ठा जमिन भाडामा लिएर प्रशोधन उद्योग सञ्चालन गरिएपछि केही हद सम्म प्लाष्टिक जन्य फोहोर व्यवस्थापन हुने विश्वास समेत गरिएको छ।

‘अहिले उद्योगले बजारमा फालिएको फोहोर संकलन गरी लगेमा प्रति किलो ३० रुपैयाका दरले खरिद गर्ने गरेको छ,’ सञ्चालक घिमिरेले भने–‘जसले प्लाष्टिक जन्य फोहोरले एकातीर बजार पाएको छ भने अर्कोतीर वषौँदेखि जथाभावी फालिएको फोहोर उठाएपछि पर्यावरणमा पर्ने असर केही कम हुने छ।’

पृथ्वीमा रहेको प्लाष्टिक सड्न झण्डै पाँच हजार वर्ष नै लाग्ने गरेको विज्ञहरुले बताउँदै आएका छन्। तर प्रविधीको प्रयोग गरी प्लाष्टिकलाई पुनः प्रयोगमा ल्याएमा उक्त समस्या निराकरण हुदै जाने विश्वास गरिएको छ। उद्योगले अहिले १५ जना रोजगारी दिएको छ। एक जना बाहेक अरु सबै स्थानीय छन्। अहिले डोरी उत्पादनको काम भइरहेको छ। साउन २२ गतेबाट उत्पादन भएको डोरी बजारमा पठाउने तयार उद्योगको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस