कञ्चनपुरको कृष्णपुरमा प्राविधिक शिक्षालय निर्माण हुने
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा कोरियन सरकारको सहयोगमा आधुनिक प्राविधिक शिक्षालय निर्माण प्रक्रिया अघि बढेको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा बन्ने सो शिक्षालयका लागि सोमबार अन्तिम स्थल अवलोकन गरिएको नगरपालिका स्रोतले जनाएको छ।
अवलोकनका क्रममा कोइकाका देशीय निर्देशक मुहेओन कङ, डेपुटी निर्देशक चोङ हि चोइ, सिटीइभिटिका एक्सिक्युटिभ डाइरेक्टर महेश भट्टराईसहितको टोलीले प्रस्तावित क्षेत्र विस्तृत रूपमा निरीक्षण गरेको थियो। नगरप्रमुख हेमराज ओझाका अनुसार कोइकाको टोली यसअघि पनि क्षेत्र अवलोकन गरिसकेको र सोमबार गरिएको अवलोकन अन्तिम भिजिटको रूपमा रहेको हो।
नगरप्रमुख ओझाले कोरियन सरकारको संसदबाट नै करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट स्वीकृत भइसकेकाले अब निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढ्ने बताए। स्थानीय तहले आवश्यक ऊर्जा, पानी, सडकसमेतका पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतासहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको उनले जनाए।
शिक्षालयमा शिक्षक तथा विद्यार्थीका लागि आवाससहितको संरचना निर्माण गरिनेछ। सुरुमा इलेक्ट्रो–मेकानिकल, इलेक्ट्रिकललगायतका प्राविधिक विषयहरू पढाइने योजना छ भने आवश्यकताअनुसार छोटो तथा दीर्घकालीन अन्य कोर्सहरू थप्दै लैजाने तयारी गरिएको छ। करिब ३० हजार वर्गमिटर जग्गा आवश्यक पर्ने सो परियोजनाका लागि नगरपालिका जग्गा उपलब्ध गराइसकेको तथा आवश्यकता परे थप पनि प्रदान गर्न सकिने नगरप्रमुख ओझाले बताए।
अवलोकनपछि कोइकाका निर्देशक कङले नेपालका धेरै परियोजना काठमाडौँ आसपासमा सीमित रहेको अवस्थामा पहिलो पटक सुदूरपश्चिममा परियोजना सञ्चालन गर्न पाउँदा कोइका उत्साहित रहेको बताए। उनले यो परियोजनाले स्थानीय युवा र विपन्न वर्गलाई गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच दिलाउने विश्वास व्यक्त गरे।
नगरपालिकाको वडा कार्यालयसँगै रहेको जमिनमा बन्ने सो शिक्षालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, टुरिजम तथा हस्पिटालिटीलगायतका विषयको अध्यापन सहज हुने बताइएको छ। ६ महिना देखि ३ वर्षसम्मका विभिन्न तालिम तथा कोर्स सञ्चालन गरिनेछ भने आवश्यक प्रयोगशाला, उपकरण र प्राविधिक सामग्री कोइकाले उपलब्ध गराउनेछ।
यो परियोजना सञ्चालनमा आएपछि सुदूरपश्चिममा सीपमूलक, व्यावसायिक तथा रोजगारीमुखी जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा नगरपालिकाले राखेको छ।