सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि
दोधारा चाँदनी (कञ्चनपुर): सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार यस वर्ष प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटनभन्दा बढी हो।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार उत्पादनमा वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो। “उन्नत जातको बीउले १०–१५ प्रतिशतसम्म उत्पादन बढाउँछ,” पाण्डेयले बताए।
कञ्चनपुर र कैलाली जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ। कञ्चनपुरमा ४.४ र कैलालीमा ४.५ प्रतिहेक्टर उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका धर्मबहादुर साउँदले सिँचाइ सुविधा र अनुदानमा उपलब्ध गराइने बीउबिजनले पनि वृद्धि भएको बताए।
साना सिँचाइ तथा महाकाली सिँचाइ आयोजना (पहिलो र दोस्रो चरण) मार्फत कञ्चनपुरमा ५१ हजार २५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएको छ। सुदूरपश्चिम प्रदेशका यी जिल्लालाई अन्न भण्डारका रूपमा चिनिन्छ र यहाँको उत्पादनले प्रदेशका अन्य पहाडी जिल्लामा खाद्य आपूर्ति गर्ने गरेको छ।