सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
कैलाली: सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले २०८२-८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रम समेटिएको एकीकृत पुस्तक प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ। आज आयोगका उपाध्यक्ष डा. जीवन रानासहितको टोलीले मुख्यमन्त्रीलाई पुस्तक औपचारिक रूपमा बुझाएको हो।
पुस्तक ग्रहण गर्दै मुख्यमन्त्री शाहले यसले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, पुस्तकले सुशासन प्रवद्र्धन गर्न, सरकारको विकास रणनीति तथा लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन र नागरिकलाई बजेट तथा कार्यक्रमबारे समग्र जानकारी उपलब्ध गराउन मद्दत गर्नेछ। यसले नागरिक–सरकारबीचको विश्वास र उत्तरदायित्वलाई अझ मजबुत बनाउने पनि उनको भनाइ थियो।
प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष प्रदेश सभाबाट बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशित गर्दै आएको छ। तर यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौवटै जिल्लाका जिल्ला समन्वय समिति तथा ८८ वटै स्थानीय तहका निकायगत र जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यक्रम तथा बजेटलाई एकीकृत रूपमा समेटेर संक्षिप्त पुस्तक प्रकाशन गरेको हो।