सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक फूलखेतीबाट वार्षिक आठलाख आम्दानी

२०८२ कार्तिक ३०, १०:४२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन्। 

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन्। दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाख रुपैया सम्मको कारोबार हुने गरेको बताइन्। आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक आठ लाख रुपैयासम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब १० लाख रुपैया बराबरको कारोबार भएको उनले बताईन। 

“मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो एक सय ५० देखि पाँच सय रुपैयासम्म र प्रतिमाला ६० देखि एक सय रुपैया सम्ममा बिक्री गर्ने गरिएको छ ।” उनले भनिन, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन्। उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति छ सय रुपैयाका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन्।

उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन्। फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन्। फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन्। 
 

कमेन्ट लोड गर्नुस