सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको आगामी चुनाव सफल बनाउन चीनको हरसम्भव सहयोगको प्रतिबद्धता

२०८२ कार्तिक २९, १२:१२ रासस

काठमाडौँ: नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा हुन लागिरहेको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अन्तरिम सरकारसँग लगातार समन्वय भइरहे पनि यसको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भएकाले चीनले प्राथमिकताका रूपमा निर्वाचन सहयोगलाई केन्द्रमा राखेको बताए।

द्विपक्षीय सहयोगका चलिरहेको परियोजनामा देखिएको प्रगतिप्रति सन्तुष्टि जनाउँदै राजदूत छनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनामा पनि उल्लेख्य प्रगति भएको जानकारी दिए। उनका अनुसार हाल ती परियोजनाहरू प्रशासनिक प्रक्रियामा छन् र आगामी स्थायी सरकारले गठन भएपछि छिटो गतिमा कार्यान्वयन हुनसक्छन्।

चिनियाँ पाँचवर्षीय योजनाले नेपालसहित छिमेकी मुलुकहरूको आर्थिक विकासका लागि नयाँ अवसर खोल्ने उल्लेख गर्दै उनले नेपालको विकास आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए। नेपाली कृषि उत्पादनलाई चिनियाँ बजारसम्म पु¥याउने तयारी अन्तिम चरणमा पुगेको उनले खुलाए।

नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि नै चीनको चाहना भएको दुहो¥याउँदै राजदूत छनले नेपाल रणनीतिक योजना र भरपर्दो विकास साझेदारको अभावका कारण सुस्त गतिमा अघि बढेको विश्लेषण गरे। उनले चीनको १५औँ पाँचवर्षीय योजनामा नेपालका विकास परियोजनाहरू पनि समावेश गरिएको बताए।

राजदूतले नेपालले एक–चीन नीतिले समर्थन गर्दै ताइवान, हङकङ र मकाउ चीनका अभिन्न अंग हुन् भन्ने मान्यताप्रति दृढ ऐक्यबद्धता जनाइरहेकामा धन्यवाद व्यक्त गरे। दुवै देशले संयुक्त राष्ट्रसंघ केन्द्रित, विधिमा आधारित विश्वव्यवस्थाको समर्थन गर्दै आएको पनि उनको भनाइ थियो।

जेनजी आन्दोलनबारे प्रश्नमा उनले चीनको इतिहासमा पनि यसका दृष्टान्त रहेको उल्लेख गर्दै नेपालमा भएका आन्दोलनहरू पनि राष्ट्र केन्द्रित, सुशासन प्रवद्र्धन र सकारात्मक परिवर्तनमा केन्द्रित रहेको बुझाइ व्यक्त गरे।

पन्ध्रौँ पाँचवर्षीय योजनाबारे जानकारी दिँदै उनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सुदृढीकरण, जनहितलाई प्राथमिकता, उच्चस्तरीय विकास, प्रतिव्यक्ति आय २० हजार अमेरिकी डलरसम्म पु¥याउने लक्ष्य, सुरक्षा–विकास सन्तुलन, खुलापन नीतिको विस्तार र बहुपक्षीय व्यापार प्रणालीलाई दृढ समर्थन उल्लेख्य पक्ष भएको बताए।
 

कमेन्ट लोड गर्नुस