कैलालीमा घाइते बालक र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग
धनगढीः कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भीरबाट खसेर गम्भीर घाइते भएपछि स्थानिय युवाहरूले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्।
गोठालो जाने क्रममा खसेका साउँदको टाउकोमा गम्भीर चोट लागेपछि मनोज साउँदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सहयोग अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानमार्फत संकलित २१ हजार ७९१ रुपैयाँ उपचार खर्चका लागि हस्तान्तरण गरिएको छ।
यस्तै, सोही गाउँपालिकाकी टिकेश्वरी बिकको भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा ज्यान गएपछि उनका परिवारलाई समेत सहयोग अभियान सञ्चालन गरिएको छ। घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि आर्थिक संकटमा परेको परिवारका लागि मनोज साउँद र गणेश बिकको नेतृत्वमा सहयोग संकलन गरिएको हो।
देश–विदेशमा रहेका दाताहरूबाट संकलित २६ हजार ७९१ रुपैयाँ मध्ये १७ हजार ४१५ रुपैयाँ मृतककी आमा सितादेवी बिकलाई क्रियाखर्चका लागि हस्तान्तरण गरिएको छ। बाँकी ९ हजार ३७६ रुपैयाँ स्थानीय सरकारको रोहवरमा छोरीका नाममा औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको अभियनकर्ता साउँदले जानकारी दिएका छन्।