सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका शेरबहादुरको परिवारले मानवअधिकार आयोगसँग माग्यो गुहार

२०८२ कार्तिक २८, ०५:५१ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिका– १० खमौराका शेरबहादुर चौधरीको हत्या आरोपित एक जनालाई जिल्ला अदालत कैलालीले तारेखमा छुटेपछि चौधरीको परिवारले न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार मागेका छन्। शुक्रवार धनगढीस्थित मानवअधिकार आयोगको प्रादेशिक कार्यालयमा आएर चौधरीको परिवारले हारगुहार मागेको हो।

शेरबहादुर चौधरीलाई असोज २३ गते राति स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले लखेटेर मारेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए। विकास मल्ललाई अदालतले साधारण तारेखमा छोडेको हो भने लोकेन्द्र मल्ललाई भने थुनामा पठाइएको छ। विकासलाई साधारण तारेखमा छोडिएको र उनी विदेश गइसेकेको चौधरी परिवारको दाबी छ। उनीहरूले लोकेन्द्र मल्लसमेत छुट्न सक्ने भन्दै प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको जिकिर गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालयमा मृतक चौधरीकी आमा पुतली चौधरी, दाइ सन्तोष चौधरी, भाइ रमेश चौधरी, आफन्त बाबुराम चौधरीसहितका भलमन्साको समूह पुगेको हो। गोदावरी-१० का वडा अध्यक्ष रविन्द्र सिंहसमेत चौधरीका आफन्तसँगै आयोगको कार्यालयमा पुगेका हुन्।

मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते मृत फेला परेका थिए। मल्ल दाजुभाइले चौधरीलाई राति लखेटेर मारेको भन्दै दुवै जना विरुद्ध मृतक चौधरीको परिवारले किटानी जाहेरी दिएको  थियो। तर अनुसन्धानमा लापरबाही भएकाले एकजना आरोपितले रिहा हुने मौका पाएको मृतकी भाइबुहारी सलिना चौधरीले बताइन्। उनले न्यायका लागि हारगुहार माग्न आफूहरू मानवअधिकार आयोगमा आएको बताइन्।

उनले घटनास्थलको मुचुल्का उठाउँदा प्रहरीले जिम्मेवारी पूरा नगरेको गुनासो गरिन्। उनले शव बरामद गर्दा घटनास्थलको विवरणमा त्रुटि गरिएको, पोष्टमार्टम रिपोर्टमा कैफियत रहेको र बयान लिँदा आफूहरूले बोलेको कुरा प्रहरीले मिसिलमा उल्लेख नगरेको दाबी सलिनाको छ। 'हामीलाई प्रहरीबाट सहयोग भएन। सुरूमा प्रहरीलाई पटक-पटक फोन गर्दा फोन उठेन, शव उठाउँदा मुचुल्कामा सबै कुरा उल्लेख भएन,' उनले भनिन्, 'हामीले दिएको बयानसमेत प्रहरीले जस्ताकोतस्तै लेखेन। घटनाको पुनः अनुसन्धान होस् भन्ने हाम्रो माग छ।'

मृतक चौधरीका आफन्त बाबुराम चौधरीले न्याय नपाउने सम्भावना बलियो भएको बताएका छन्। एकजना आरोपी तारेखका छुट्नुले आफूहरूलाई न्याय मिल्दैन कि भन्ने लागेको बताए। प्रहरीले अनुसन्धानमा कमजोरी गर्दा न्याय पाउने आस मरेको उनको गुनासो छ। 'न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो। अनुसन्धानमा कमजोरी हुँदा एकजना तारेखमा छुटेका छन्। अर्का पनि छिट्टै छुट्छन् कि भन्ने डर छ,' उनले भने, 'शेरबहादुरको हत्या घटनामा न्याय मिलेन भने हामी जुनसुकै हदसम्मको आन्दोलन गर्न तयार छौँ। राष्ट्रिय मानवअधिकार आयोगले यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने हाम्रो आग्रह छ।'

मृतक शेरबहादुरकी आमा पुतली चौधरीइले मल्ला दाजुभाइ विरुद्ध प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएपछि प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेको थियो। अदालतले लक्की मल्ललाई पुर्पक्षका लागि कारागार चलान गरे पनि विकास मल्ललाई भने सामान्य तारेखमा रिहा गरेको भन्दै मृतक चौधरीका आफन्त असन्तुष्ट छन्।

शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबुराम चौधरीले सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा गर्दा गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताएका छन्। घरमै आएर मार्ने धम्की दिने व्यक्तिहरूले उन्मुक्ति पाए हदैसम्मको आन्दोलन गर्न आफूहरू तयार रहेको उनले बताएका छन्। मृतका आफन्तहरूलाई अनुसन्धान चित्त नबुझेको हो भने अदालतले पुनः अनुसन्धानका लागि आदेश दिए प्रहरीले फेरि अनुसन्धान गर्ने प्रवक्ता सिंहले बताए।

लक्की र विकास मल्लले असोज २३ गते राति घरको ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट शेरबहादुर भागेका थिए। उनको असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो। उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो। त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए।

शेरबहादुरको हत्यामा संलग्नले कानुनी कारबाही पाउनुपर्ने चौधरी परिवार र आफन्तको माग छ। उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख झंकरबहादुर रावललाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै रावलले घटनाको अनुसन्धान बारे बुझ्ने आश्वासन दिएका छन्।

यता कैलाली प्रहरीले भने शेरबहादुर चौधरी मृत्यु घटनाको अनुसन्धानमा कमजोरी नभएको बताएको छ। प्रवक्ता राजकुमार सिंहले प्रहरीले घटनाको अनुसन्धानमा कुनै कमजोरी नगरेको बताएका हुन्। 

कमेन्ट लोड गर्नुस