सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा हायसको सिसा फुटाइयो

२०८२ कार्तिक २८, ११:०९ खबर संवाददाता

धनगढीः धनगढी बसपार्कमा हायसको सिसा फुटाइएको छ। पार्किङमा राखेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७६४ नम्बरको हायस गाडीको सिसा फुटाइएको हो। बिहीवार राति अज्ञात व्यक्तिले गाडीको सिसा फुटाउँदा ३५ हजारको क्षति भएको गाडी धनी परमानन्द भट्टले बताए।

धनगढी बसपार्कमा पालो पाउन राति बसपार्कमै बस्नुपर्ने नियम छ। धनगढी- टीकापुर रुटमा चल्ने हायसको पालो पाउन चालक या सह-चालकले राति बसपार्कमै सुत्नुपर्ने नियम बनाइएको छ। बिहानको लागि पालो कुर्न गाडी सहित बसपार्कमा सुतेको अवस्थामा रातिको समयमा अज्ञात व्यक्ति आएर ढुङ्गा प्रहार गरेर गाडीको सिसा फुटाइएको भट्टले बताए।

टीकापुर रुटमा पालो पाउन गाडी धनी या चलाक-सहचालक मध्ये एक जनाले बिहान पाँच बजे बसपार्कमै रहेको संयुक्त बुकिङ काउन्टरमा लाइन लाग्नुपर्ने नियम छ। नियमअनुसार स्वचालित नम्बर आउने प्रणालीको विकास गर्नुको सट्टा बसपार्कमै सुत्नुपर्ने झन्झटिलो नियम बनाइएको छ। यो विषयमा दिनेशखबरमा केही दिन अगाडि समाचारसमेत प्रकाशित भएको थियो।

रातिको समयमा गाडीमा क्षति पुगाएपछि गाडी धनी तथा चालक-सहचालकले असुरक्षित महसुस गरेका छन्। उनीहरूले आगामी दिनमा त्यस्तै प्रकारका भौतिक आक्रमणले निरन्तरता पाउँछ कि भनेर चिन्ता व्यक्त गरेका छन्।

बसपार्क क्षेत्रमा २७ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। लागुऔषध दुर्व्यसनीहरूको समूहले पटक-पटक पार्किङमा राखिएका गाडीमा क्षति पुगाउने गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस