बाजुराको पाँडीमा मौरी मर्न थालेपछि मौरीपालक चिन्तित
बाजुरा: हिमाली गाउँपालिका–६ पाँडीका मौरीपालकहरू यतिबेला गहिरो चिन्तामा परेका छन्। चिसो बढेसँगै यहाँका मौरीहरू धमाधम मर्न थालेका छन्। केही मौरी चिसोको कारण मर्ने र केही बाहिरबाट आएका ढोर मौरीसँग लडाइँमा परेर मर्ने घटना बढेपछि पाँडीका मौरीपालकहरूमा त्रास फैलिएको छ।
पाँडीका अधिकांश परिवार मौरीपालनमै निर्भर छन्। मौरीकै भरमा जीविकोपार्जन गर्दै आएका स्थानीयहरू मौरी मरेपछि आफ्नो आम्दानी र भविष्यबारे चिन्तित बनेका छन्। त्यहाँका एक अनुभवी मौरीपालक नरजित रावलका अनुसार, उनले करिब ६० वर्षदेखि मौरीपालन गर्दै आएका हो।
रावल भन्छन्, “यसअघि कहिल्यै मौरी मरेको थिएन, तर यो वर्ष झण्डै १५० घार खाली भएका छन्।” उनका अनुसार पाँडीको मह निकै सफा र अर्गानिक हुने भएकाले जिल्लाका विभिन्न स्थानबाट ग्राहकहरूले पहिल्यै अग्रिम पैसा पठाएर मह अर्डर गर्ने गर्थे। तर, मौरी मरेपछि घार खाली हुँदा अहिले ती अर्डर पूरा गर्न नसक्ने चिन्ता बढेको छ।
रावलका अनुसार बाहिरबाट आएका ढोर मौरीले भित्रका मौरीहरूलाई मार्ने, मह खाएर भाग्ने र मौरी घार खाली पार्ने गरेका छन्। उनले यो वर्ष सबैभन्दा ठूलो क्षति मौरी पालन व्यवसायमै पुगेको बताए।
पाँडी गाउँमा मौरीपालन स्थानीयको मुख्य पेशा हो। यहाँ उत्पादित मह देशका विभिन्न ठाउँमा माग हुने गरेको छ। स्थानीयहरू मह बेचेर नगद आम्दानी गर्ने गर्थे, तर हाल मौरी मर्ने क्रम बढेसँगै उनीहरू आर्थिक संकटमा परेका छन्।
यो अवस्थाबारे स्थानीय मौरीपालकहरूले अहिले विभिन्न विज्ञहरूसँग परामर्श गर्न थालेका छन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराज साहनीका अनुसार चिसो मौसममा मौरीमा विभिन्न रोग लाग्ने र घारमा तातो नहुँदा मौरी मर्ने समस्या हुने गर्छ।
साहनी भन्छन्, “चिसोको समयमा मौरीलाई तातो वातावरण दिनुपर्छ। त्यस्तो नहुँदा उनीहरू रोगले ग्रस्त हुन्छन् र घार छाडेर भाग्छन्।” उनका अनुसार बाहिरबाट आउने ढोर मौरी प्रायः भाले मौरी हुने गर्छन्, जसले पोथी मौरीसँग लडाइँ गर्छन् र घारको मह समेत खाएर नष्ट पार्छन्।
साहनीले मौरीपालक किसानहरूलाई ढोर मौरी देखिनेबित्तिकै धपाउने वा घारमा पस्न नदिने सल्लाह दिएका छन्। “यो समस्या नियन्त्रण गर्न मौरीपालक स्वयं सतर्क र चलाख हुनुपर्छ,” उनले बताए।