तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार
काठमाडौं: अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३.२१ अंकले बढेर २५६५ अंक पुगेको छ।
आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म बजार ओरालो लागेको भए पनि त्यसपछि सम्हालिएको हो। १४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो र १० कम्पनीको स्थिर रह्यो।
कुल कारोबार रकम भने घटेको छ; अघिल्लो दिनको ४ अर्ब ५१ करोडको कारोबारमा आज ३ अर्ब ६२ करोडको कारोबार भएको छ। समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। बैंकिङ, हाइड्रोपावर, जीवन बीमा, उत्पादन÷प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा सानो वृद्धि भएको छ भने अन्य, माइक्रोफाइनान्स, लगानी, होटल÷पर्यटन, फाइनान्स र विकास बैंक समूहमा गिरावट आएको छ।
आज चार कम्पनीका शेयर मूल्य १० प्रतिशतले बढेका छन्, ती सबै हालै सूचीकृत कम्पनी हुन्ः बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावर।
त्यस्तै, दरामखोला हाइड्रोपावरको ६.८८%, इस्टर्न हाइड्रोपावरको ६.२९% र स्वस्तिक लघुवित्तको ४% मूल्य बढेको छ। सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६% घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर रहेका छन्।