बाख्रा आनुवंशिक स्रोत केन्द्र बुढीतोलाले एक वर्षमा तीन सय बढी पाठा–पाठी बिक्री गर्दै
धनगढीः नेपाल सरकारले बाख्राका उन्नत पाठा–पाठी उत्पादन र बिक्रीका लागि २०४० चैत्र २० गते बुढीतोलामा बाख्रा विकास फार्म स्थापना गर्यो। २०७५ सालदेखि फार्मको नाम परिमार्जन गरेर बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोला राखियो। केन्द्रसँग रहेका बाख्राका खोरहरु अहिले पुराना भएका छन्।
खोरहरू पुरानो र चुहिने भएकाले बर्खाको समयमा बाख्रा राख्न नमिल्ने खालका भएका छन्। केन्द्रमा बिरामी परेको बाख्रा राख्ने आइसोलेसनसमेत छैन। केन्द्रमा नयाँ बोका ल्याउदा पनि कहाँ राख्ने भन्ने समस्या छ। ब्याउन तयार भएको पाठीका लागि समेत केन्द्रमा ठाउँ छैन। तर पनि बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाका सूचना अधिकारी भीमबहादुर थापाले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा दोब्बर पाठा-पाठी उपत्पादन भएको बताए।
बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाले एक वर्षमा एक सय २५ वटा बाख्राका पाठा–पाठीहरु किसानलाई बिक्री वितरण गर्दै आएको छ। तीनदेखि चार महिनाका पाठा–पाठीहरु बिउका लागि वितरण गर्ने गरिएको हो। बुढीतोलामा तीन सय माउ बाख्रा पालन गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा तीन सय २५ वटा पाठा–पाठीहरु बिक्री गरिएको थियो। एक सय ६० बिक्री गर्ने लक्ष्य केन्द्रको थियो। लक्ष्य भन्दा उत्पादन र बिक्री बढी गरिएको हो।
नेपाल सरकारले २०८१ फागुनदेखि शुद्ध नस्ल भएको बिउ बयर बोकाको जिउँदै प्रतिकिलोग्राम एक हजार पाँच सय मूल्य निर्धारण गरेको छ। बयर ८७ प्रतिशतको प्रतिकिलोग्राम एक हजार दुई सय, ७५ प्रतिशत शुद्ध बयरको प्रतिकिलोग्राम एक हजार मूल्य निर्धाण गरिएको छ।
सोही अनुसार केन्द्रले किसानबाट राजश्व लिने गरेको छ। स्थानीय जातको बोकाको प्रतिकिलोग्राम चार सय मूल्य निर्धारण गरिएको छ। पाठीहरुको मूल्य प्रतिकिलोग्रामको तीन सय निर्धारण गरिएको बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाका सूचना अधिकारी थापाले बताए। बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाका लागि भौतिक संरचनाहरूसँगै पानीकोसमेत अभाव रहेको छ।