सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड, सांसदहरूले विरोध प्रदर्शन

२०८२ कार्तिक २४, ०१:४७ रासस

जनकपुरधाम: मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा सांसदहरूको एक समूहले कार्यालय तोडफोड गरेको हो।

तोडफोड गरिरहेका सांसदहरूलाई सासद उपेन्द्र महतोले सरकारी सम्पत्तिमा क्षति नपु¥याउन आग्रह गर्दै रोक्न सफल भएका थिए। संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतमा सरोज कुमार यादवलाई नियुक्त गरिएकोमा विरोध देखिएको हो।

प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री यादवलाई सपथ ग्रहण गराएको विरोधमा बिहानैदेखि मधेश भवन तनावग्रस्त रहेको छ। पदभार ग्रहणका लागि मुख्यमन्त्री आउने सूचनापछि अन्य दलहरूले रोक्ने प्रयास गरेका थिए र प्रवेशद्वारमा सांसद तथा नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।

यसैबीच मन्त्री पदमा सपथ लिएका छन् एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा, र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारी।
 

कमेन्ट लोड गर्नुस