सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीनन्दामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

तस्बिर: शेरबहादुर सार्की
तस्बिर: शेरबहादुर सार्की
२०८२ कार्तिक २४, १२:५१ खबर संवाददाता

बाजुरा: जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ।

दुर्गम गाउँबस्तीका स्थानीयहरुलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले एक एक पाइला र गेटा आँखा अस्पतालसँग समन्वयमा उक्त शिविर सञ्चालन गरेको हो।

शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा आँखा रोग तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन, छाला रोग, नाक–कान–घाँटी रोग, स्त्री तथा प्रसूति सेवा, दन्त रोग र सामान्य शल्यक्रिया, कलेजो रोग, हाड तथा जोर्नी रोग, बाल रोग, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी र फार्मेसी सेवा प्रदान गरिने छ।

नगरपालिकाका अनुसार, दुर्गम गाउँबस्तीमा बसोवास गर्ने गरिब, दलित र विपन्न परिवार आर्थिक अवस्था कमजोर भएकाले प्रायः बाहिर गएर उपचार गराउन सकिरहेका छैनन्। रोग लाग्दा पनि उपचारको अभावका कारण उनीहरु रोग पालेर बस्न बाध्य छन्।

नगरप्रमुख जनकबहादुर बोहराले जानकारी दिए अनुसार, “हामीले पाँच वर्षसम्म प्रत्येक वर्ष कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता गरेका थियौं। अहिलेसम्म तीन वर्ष पूरा भइसकेको छ र दुई वर्ष बाँकी छ। विगतमा मुगु, हुम्ला लगायतका छिमेकी जिल्लाका स्थानीयले समेत सेवा लिइसकेका छन्।”

शिविरमा कानको अप्रेसन लेजर प्रविधिबाट गरिने भएकोले दुर्गम क्षेत्रमा यस्तो सेवा पहिलो पटक उपलब्ध भएको छ।

नगरप्रमुख बोहराले थपे, “शिविर २६ गते बुधबारसम्म सञ्चालन हुनेछ। बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सेवा लिन आउने सेवाग्राहीले आफ्नो नाम दर्ता गर्नुपर्नेछ। काठमाडौँदेखि विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले सबैले समयमै आएर निःशुल्क सेवा लिन सक्नेछन्।”
 

कमेन्ट लोड गर्नुस