सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी मल्लले मुद्दा हाल्दा धनगढीको शिवगङ्गा पुलको काम ठप्प

२०८२ कार्तिक २३, ०४:०४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा सम्झौताको आठ वर्षसम्म पुलको काम अलपत्र छोड्ने निर्माण व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्दा शिवगङ्गा पुलको काम ठप्प भएको छ।

आठ वर्षसम्म योजना ओगटेर काम नगरेकाले सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो। सो निर्णयको विरुद्ध निर्माण व्यवसायी चन्द्रशेखर मल्ल अदालत गएकाले पुल निर्माणको काम ठप्प भएको हो।

धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की मोटरेबल पुल निर्माणको काम अहिलेसम्म अलपत्र पर्दा सर्वसाधारणले सरकारी निकायको आलोचना गर्दै आएका छन्।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते पुल निर्माणको सम्झौता गरेको थियो। धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको आठ वर्ष हुँदा पनि जग निर्माणको कामसमेत पूरा नभएकाले  सडक विभागले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो।

कुल १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबिच २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले आठ वर्षसम्म पुलको काम अलपत्र पारेकाले सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको जनाएको छ।

सडक डिभिजन महेन्द्रनगरले निर्माण व्यवसायी अदालत गएकाले पुल निर्माणको काम ठप्प हुन पुगेको जनाएको छ। सडक विभागले पुलको 'फाउन्डेसन निर्माणको क्रममा पाइल टेस्ट गर्दा 'टोटल कन्क्रिट कोर रिकभरी' सन्तोषजनक नभएको र केही पाइलहरू लोड टेस्टमा समेत फेल भएकोले उक्त कार्यलाई अस्वीकार गरी नयाँ ठाउँमा पुल निर्माण गर्नुपर्ने निर्णय' गरेको हो। निर्माण व्यवसायी चन्द्रशेखर मल्ल उक्त निर्णयको विरुद्ध अदालत गएकाले पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिस प्रसाद जोशीले बताए।

धनगढी उपमहानगरपालिकाले पनि सडक विभागको निर्माण विरुद्ध निर्माण व्यवसायी अदालत गएकाले पुल निर्माणको काम अनिश्चित भएको जनाएको छ। तीन वर्ष भित्र पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएकोमा आठ वर्षसम्म पुल निर्माणले गति लिन सकेन। पटक-पटक म्याद थपिएकोमा पछिल्लो पटक थपिएको म्यादसमेत गत भदौ ३१ गते समाप्त भएको छ।

ठेक्का सम्झौताअनुसार २०७७ असार २५ गतेभित्र काम सकिनुपर्ने हो। सडक डिभिजन कार्यालयले पछिल्लो पटक २०८२ साल भदौसम्म म्याद थप गरेको थियो।

सडक विभागले पुल निर्माणको स्थान परिवर्तन गर्नु पर्ने निष्कर्ष निकालेको थियो। स्थान परिवर्तन गर्ने निर्णय विरुद्ध निर्माण व्यवसायी अदालत गएका हुन्। यो विषयमा निर्माण व्यवसायी मल्लसँग कुराकानी गर्न खोज्दा उनले फोन उठाएनन्।

व्यवसायीले हालेको मुद्दा किनारा नलाग्दासम्म शिवगङ्गा नदीमा पुल नबन्ने भएको छ। जसका कारण अझै केही वर्ष उक्त सडक प्रयोग गर्नेले सास्ती खेप्नुपर्ने भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस