सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी बनाउन मुख्यमन्त्री शाहको निर्देशन

२०८२ कार्तिक २३, ०३:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास योजनामा अनुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न निर्देशन दिएका छन्। 

शनिबार बैतडीमा आयोजना गरिएको पालिका प्रमुख, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी बनाउन आह्वान गरे ।

पछिल्लो समय आवश्यकता नपरेका ठाँउ र स्थानमा बजेट छुट्याइएको र सम्पन्न योजनामा पुनः खर्च देखाइएको गुनासो बढ्दै गएको मुख्यमन्त्री शाहले बताए।  उनले भने ‘‘वास्तविक आवश्यकता नबुझेको योजना कार्यान्वयनमा जाने छैन त्यसका लागि हरेक निकायले कार्यतालिका बनाएर मात्र अघि बढ्नुपर्छ ।’’

उनले उपभोक्ता समिति मार्फत कार्य सम्पन्न गर्ने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राख्दै, ठेक्का प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रदेश सरकारले छिट्टै उपभोक्ता समितिका कामका लागि मापदण्ड र कानुनी ढाँचा तय गर्ने तयारी गरिरहेको समेत जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री शाहले बैतडीका चारै सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी समेत लिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सो बैठकमा उनले सुरक्षा संयन्त्रबिच समन्वय र सतर्कता बढाउन आग्रह गरे ।
 

कमेन्ट लोड गर्नुस