सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएल तयारीका लागि सुदूरपश्चिम रोयल्सले धनगढीमा ट्यालेन्ट हन्ट सञ्चालन

२०८२ कार्तिक २३, ०३:०२ खबर संवाददाता

धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गरेको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आजदेखि सुरु भएको ट्यालेन्ट हन्ट भोलि पनि सञ्चालन हुने सुदूरपश्चिम रोयल्स प्रालिले जनाएको छ।

टोलीका मुख्य प्रशिक्षक जगत टमटाले हन्टबाट उत्कृष्ट खेलाडीलाई छनोट गरी रोयल्सको स्क्वाडमा समावेश गरिने जानकारी दिए। “टिमको आवश्यकताअनुसार ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई पनि एनपीएलका खेलमा अवसर दिइनेछ,” उनले भने।

ट्यालेन्ट हन्टको पहिलो दिन एक सय ३४ जना खेलाडीले सहभागिता जनाएका छन्। संचालनमा टोलीका मुख्य प्रशिक्षक टमटासँगै रोयल्सका खेलाडीहरू विनोद भण्डारी, इशान पाण्डे, नरेन साउँदलगायतको पनि सहभागिता रहेको छ।

एनपीएलको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि प्रशिक्षण सुरु गरिसकेको छ। टोलीका मालिक स्वतन्त्र प्रताप शाहले सुदूरपश्चिममै खेल मैदान उपलब्ध गराइए एनपीएल तयारी आफ्नै प्रदेशमै गर्न तयार रहेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस