सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल युएईसँग पराजित: शरद भेषवाकरको अन्तर्राष्ट्रिय सन्यास

२०८२ कार्तिक २३, ११:५७ रासस

काठमाडौँ: हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग ४३ रनको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा ५ विकेट गुमाएर १२९ रनको चुनौतीपूर्ण योगफल बनायो। उसका लागि निलाश केसवानीले शानदार ७३ रन र जाहिद अलीले ३० रनको योगदान दिए। नेपालका राशिद खानले दुई तथा रुपेश सिंहले एक विकेट लिए।

जवाफमा लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल ६ ओभरमा ४ विकेटको क्षतिमा ८४ रनमै सीमित रह्यो। नेपालका मोहम्मद आदिल आलमले ३२ रन र सन्दीप जोराले अविजित ३१ रन बनाए।

यस हारसँगै नेपालको हङकङ इन्टरनेशनल सिक्सेसको यात्रा समाप्त भएको छ। विभिन्न १२ टोली सहभागी प्रतियोगितामा नेपालले भारतमाथि मात्र जित दर्ता गरेको थियो भने अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र युएईसँग पराजित भयो।

यसैबीच, नेपाली टोलीका वरिष्ठ सदस्य तथा कप्तान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले यसअघि नै हङकङ इन्टरनेशनल सिक्सेसपछि सन्यास लिने घोषणा गरेका थिए।

दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा भेषवाकरले सन् २००४ मा युएईविरुद्ध सीनियर टिमबाट डेब्यू गरेका थिए। सन् २००२ मा उनले यु–१५ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए। सन् २०१४ को विश्वकपमा नेपालको पहिलो सहभागितामा र सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा पनि उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए।
 

कमेन्ट लोड गर्नुस