कैलालीको बुढीतोलामा बाख्रा स्रोत केन्द्रको नयाँ भवन निर्माणको काम अलपत्र
धनगढी : कैलालीको गोवादरी नगरपालिका–४ बुढीतोलामा नेपाल सरकारले बाख्राका उन्नत पाठा–पाठी उत्पादन र बिक्रीका लागि २०४० चैत्र २० गते बाख्रा विकास फार्म स्थापना गर्यो। २०७५ साल श्रावण महिनादेखि फार्मको नाम परिमार्जन गरेर बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोला राखियो।
बुढीतोलामा निर्माण गरिएका केन्द्रका पुराना प्रशासनिक भवन जीर्ण छन्। केन्द्रको नयाँ प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७९/८० सालमा ठेक्का सम्झौता गरिएको भवनको काम हालसम्म पूरा नभएको हो। बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाका सूचना अधिकारी भीमबहादुर थापाले कार्यालय भवनको काम पूरा नभएको बताए। उनले भने, ‘कार्यालय भवन अधुरो छ। अधुरो भवन सम्पन्न गर्नुछ। खरिद ऐन अनुसार काम गर्ने हो। निर्माण कम्पनीले काम गर्छन्।’
बाख्रा आनुवंशिक स्रोत केन्द्र, बुढीतोलाको एक करोड ४२ लाखको बजेटमा भवन निर्माणको काम मा भवन निर्माणको काम थालिएको थियो। तर, निर्माण कम्पनीले असार मसान्त भित्रमा भवन निर्माणको काम पूरा नगरेकाले चारसम्म अलपत्र परेको हो। अधुरो भवनका लागि २०८०/८१ मा बजेट माग समेत गरिएन। आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारले अधुरो भवन निर्माणका लागि बजेट विनियोजन गरेन। चालु आर्थिक वर्ष २०८२/०८३ मा एक करोड ७० लाख ६६ हजार पुँजीगत बजेट विनियोजन गरिएको छ। केन्द्रको पुँजीगत बजेटबाट पुरानो अधुरो कार्यालय भवन निर्माण, पर्खाल निर्माण र बाख्राका खोर मर्मत तथा सुधारमा खर्च गर्न बोलपत्रको सूचना सार्वजनिक गरिएको छ। उनले भने, ‘एक करोड ७० लाख कार्यालयको भवनका लागि मात्र हैन। बाख्राको फार्मका मल राख्ने खाल्डा बगेका छन्। बिचमा कतैबाट पैसा आएन।’
नेपाल सरकारले कैलालीको बुढीतोलामा तीन सय बाख्रा पालन गरेर उन्नत जातका पाठा–पाठीहरू सरकारी मूल्यमा बिक्री गर्दै आएको छ। तर, केन्द्रका कर्मचारीका लागि पुराना तथा जीर्ण भवन छन्। बर्सातको समयमा कार्यालय भवनमा काम गर्न सक्ने अवस्था छैन। चार वर्षसम्म अलपत्र पारिएको भवनमा रङ्गरोगनको कामसमेत भएको छैन। साढे २ तलाको भवन निर्माणको काम चालु आर्थिक वर्षमा पूरा गर्ने तयारी गरिएको छ। चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले बोलपत्रको सूचना सार्वजनिक गरिएको हो। कात्तिक २६ गते बोलपत्रको सूचना खोल्ने तयारीमा केन्द्र रहेको छ। केन्द्रका सूचना अधिकारी थापाले भवन निर्माण, मर्मत सुधार, पर्खाल निर्माणको काम गरिने बताए।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बाख्रा आनुवंशिक स्रोत केन्द्रको नयाँ कार्यालय भवन निर्माणको काम अलपत्र परेको छ। नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको बाख्रा आनुवंशिक स्रोत केन्द्रको प्रशासनिक भवन निर्माणको काम चार वर्षसम्म अलपत्र परेको हो।