सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय परिचयपत्रमार्फत बायोमेट्रिक्स मतदानको मागः जेनजी फ्रन्ट

२०८२ कार्तिक २१, ०४:४८ रासस

काठमाडौँ: नेपालको ‘जेनजी फ्रन्ट’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक्स प्रयोग गरी मतदान व्यवस्था मिलाउन सरकार र निर्वाचन आयोगसँग माग गरेको छ।

संघर्षकर्ताहरूले मतदाता नामावली सङ्कलनमा देखिएको सीमितता र बालिग मतदातामा उत्साहको कमीलाई प्रमुख समस्या औँल्याएका छन्। फ्रन्टका संयोजक रक्षा बमका अनुसार, “राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले पहिले नै बायोमेट्रिक्स विवरण दिइसकेका छन्। यसलाई मतदानमा प्रयोग गर्दा फर्जी मतदान नहुनेछ र मतदाताको सुविधा पनि बढ्नेछ। हामी सम्बद्ध सबै निकायमा जनमुखी र समाधानमुखी काम गर्न अपिल गर्दछौं।”

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गरिरहेको छ। तर नाम दर्ताका लागि जिल्लाका सदरमुकाममा बायोमेट्रिक्स गर्नुपर्ने जटिलताले मतदातामा उत्साह थप्न सकेको छैन। अहिलेसम्म जम्मा १,३६,००० नयाँ मतदाताले मात्र नामावली दर्ता गराएका छन्। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सकिने जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस