कैलालीमा ७ प्रतिशतले घट्यो धानको उत्पादन
धनगढी : कैलालीमा धानको उत्पादन घटेको छ। गत वर्ष कैलालीमा २ लाख ४६ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर २ लाख २९ हजार २सय ४५ मेट्रिक टन मात्रै उत्पादन भएको हो।
यस वर्ष ५ देखि ७ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले बताए। उनले भने ‘पर्याप्त वर्षा नहुँदा समयमै रोपाई हुन सकेन, त्यसका कारण उत्पादनमा असर पुगेको छ। विद्युतको पावर अभावका कारण पम्पबाट पानी तानेर रोपाई गर्न सकिने अवस्था थिएन।’ धान रोपिसकेपछि किसानहरूले पर्याप्त मल नपाएका कारण पनि उत्पादन घटेको उनले बताए।
उनले भने, ‘लामो समय खडेरी र दोस्रोपटक पनि मलको अभावले उत्पादनमा गिरावट आएको हो।’ कैलालीमा ९३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा एक हजार चार सय नौ क्विन्टल धान खरिद गरेको छ। गत बुधवारबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले जिल्लाका विभिन्न धान खरिद केन्द्रबाट आइतवारसम्म उक्त धान खरिद गरेको हो। कार्यालय प्रमुख दीपक थापाका अनुसार खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगंगा, टीकापुर, सत्ती, भजनी र जोशीपुरमा खरिद केन्द्रबाट धान खरिद गरिरहेको छ।
मोहनपुरबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले आइतबारबाट सबै खरिद केन्द्रबाट धान खरिद गरिरहेको उनले जानकारी दिए। जिल्लामा मोटा धान खरिद गरिहेको खाद्यले सरकारले निर्धारण गरेको न्युनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको उनले बताए। नेपाल सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३।८१ निर्धारण गरेको छ।
खाद्यले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको छ। खाद्य कम्पनीले धान खरिद सुरु गरेसँगै किसानलाई ठूलो राहत भएको छ। यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य बाध्य भएका थिए।