सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ४ सय ७ नयाँ मतदाता थपिए

२०८२ कार्तिक १७, ०४:२५ खबर संवाददाता

बैतडीः आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बैतडीमा पछिल्लो समय ४ सय ७ जना नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगले गत  असोज ९ गतेदेखि कात्तिक २८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने सूचना जारी गरेपछि जिल्लाभर नयाँ मतदाता दर्तामा उत्साहजनक सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिएका छन्। 

उनका अनुसार एकै दिनमा ४५ जनासम्मले नाम दर्ता गराउने गरेका छन् । “नाम दर्ता गराउनेमा १६ र १७ वर्ष उमेरका किशोर–किशोरीहरूको सङ्ख्या बढी देखिएको छ । निर्वाचन कार्यालयका तथ्याङ्क अनुसार हाल जिल्लामा कुल मतदाता सङ्ख्या एक लाख ५४ हजार १६८ पुगेको छ ।” उनले भने। 

जसमा महिला मतदाता ७६ हजार ९ सय ९८ जना र पुरुष मतदाता ७७ हजार ३८० जना छन् । गएको प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा एक लाख ५० हजार १५६ मतदाता दर्ता भएका थिए । तीमध्ये ७८ हजार ३ सय ६९ मत प्रयोग भएको कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनको तुलनामा यस पटक मतदाताको सङ्ख्या अझ वृद्धि हुने अनुमान गरिएको जोशीले बताए। बैतडीमा हाल एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र कायम छन्। त्यस्तै जिल्लामा १० वटा स्थानीय तह र ८४ वटा वडा छन् ।

२०७८ सालको जनगणना अनुसार बैतडी जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १ सय ५७ छ । जसमा पुरुष एक लाख १३ हजार ८ सय ६४ र महिला एक लाख २८ हजार २ सय ९३ जना रहेका छन् ।


 

कमेन्ट लोड गर्नुस