कञ्चनपुरका धार्मिक अभियानकर्ता अभिषेक जोशीले गरे १५ हजार घरमा गीता वितरण
धनगढीः सनातन हिन्दू धर्मका अभियानकर्ता अभिषेक जोशीले १५ हजार घरमा श्रीमद्भागत गीता वितरण गरेका छन्। गत वर्ष पुस २७ गते बारा जिल्लाको निजगढबाट गीता वितरण अभियान थालिएको हो।
एक वर्षमा २० हजार घर परिवारमा गीता पुर्याउने रहेको जोशीले बताएका छन्। उनले गत वर्ष बाराका खडकप्रसाद उप्रेतीको नेतृत्व र धार्मिक अभियानकर्ता अम्मर परियारको संयोजनमा देशभर गीता वितरण अभियान सुरू भएको बताए। सो अभियान अन्तर्गत हालसम्म १५ हजार व्यक्तिलाई गीता प्रदान गरिएको जोशीले बताए। आगमी पुस २७ गतेसम्म २० हजार गीता वितरण गर्ने संकल्प पूरा हुने जोशीले बताएका छन्।
'यो यात्रामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबै सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु। गत पुस २७ गते पृथ्वी जयन्तीको शुभ अवसर पारेर बारा जिल्लाको निजगढ नगरपालिकाबाट सुरु भएको यो अभियानमा गरिएको संकल्प, यस वर्षको पुस २७ गतेभित्र संकल्प पूरा गर्ने अठोट लिएको छु,' जोशीले भने।
जोशीले अगाडि भने,`हिन्दूहरुकै घरमा हिन्दू ग्रन्थ छैन´ भनेर गीता वितरणको अभियान सुरु भएको जोशीले बताए। यो अभियान अगाडि बढ्दै गएपछि गीता बाँडेर मात्रै हुँदैन। संगठित गर्दै लैजानुपर्छ, गुरुकुल खोल्नुपर्छ भन्ने धारणाको विकास भएको छ।'
देशमा थुप्रै धार्मिक संगठन छन् र तिनले मानिसहरूलाई संगठित गर्ने; प्रशिक्षण दिने, गुरुकुल खोल्ने लगायतका काम गर्नुपर्ने जोशीको धारणा छ।
गीता वितरणको अभियान देशभर चलाउने जोशीले बताए। अहिलेसम्म काठमाडौँ, ललितपुर, पर्वत, तनहुँ, उदयपुर, रामेछाप, सप्तरी, काभ्रे, बारा, धादिङ, मुगु र डोटी जिल्लामा गीता वितरण गरिएको जोशीले बताए। एक दसकदेखि धार्मिक जागरणमा क्रियाशील जोशीको घर कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्छ। उनी हिन्दू धर्म दर्शनका अध्येतासमेत हुन्।