भजनी नगरपालिकाका ताल र पोखरी ठेक्का लिएका ठेकेदारले साढे पाँच करोड राजस्व बुझाएनन्
भजनीः कैलालीको भजनी नगरपालिकाका ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि सकिएको लामो समय भइसक्दासमेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन्।
नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका ताल ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको नगरपालिकाले जनाएको छ। सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारका तर्फबाट अदालतमा विभिन्न मुद्दामामिला गरेर उल्टै गाउँपालिकालाई नै अनेक उल्झनमा पार्ने काम भएको नगरप्रमुख केवल चौधरीले बताए।
एकै व्यक्तिले न्यूनतम एक लाखदेखि अधिकतम एक करोड सम्म रकम नगरपालिकालाई तिर्न बाँकी रहेको उनले बताए। नगरपालिकाले २०७० देखि २०८२ साल जेठ मसान्तसम्म उठाउन पर्ने राजस्वबापतको रकम अझै नउठेको भजनी नगरपालिकाका राजस्व शाखाका प्रमुख चिरञ्जीवी उपाध्यायले बताए।
ठेक्का रकम बुझाउन बाँकी ठेकेदारलाई पटक पटक लिखित ताकिता नै गर्दा पनि बेवास्ता गरेको उनको भनाइ छ। नगरपालिकाले ठेक्कामा दिएका ३२ मध्ये २८ वटा तालबाट हालसम्म पाँच करोड ६८ लाख ६५ हजार रुपियाँ उठ्न बाँकी छ।
ढोगरवा तालका ठेकेदार मोहन गिरीले राजस्व तिर्न ढिलो भएको र आफूसँग बाँकी रहेको १४ लाख २५ हजार पाँच सय राजस्व तिर्न तयार रहेको बताए। कतिपय ठेक्का लिएका व्यक्तिले ताल छाडिसकेका छन् तर नगरपालिकालाई सम्झौता अनुसारको रकम भने बुझाएका छैनन्।
नगरपालिकाले पटक पटक ताल ठेक्काबापतको रकम उठाउन पहल गरेको भए पनि अहिलेसम्म ठेकेदारहरू अटेर गरेको भन्दै अब कानुनी उपचार खोजेर भए पनि रकम असुल गर्ने नगरपालिकाले जनाएको छ। सम्झौता अवधि गुज्रिसकेका घोर ताल, गिदनिया ताल र सोनिया नुक्ली तालका ठेकेदार प्रेमबहादुर भुलले तीन करोड ४२ लाख ७२ हजार ५ सय २७ रुपियाँ राजस्व तिर्न बाँकी रहेको छ।
घोर ताल र ढाङ्ग्राहावा तालका ठेकेदार फुलराम चौधरीले १४ लाख ६६ हजार ६ सय ४२ रुपियाँ, गुरुदहुवा ताल र पिपरहुवा तालका ठेकेदार विनोद लामाले एक लाख १७ हजार आठ सय, चट्टीहवा ताल र गिदनिया तालका ठेकेदार गगन ओलीले ४० हजार ७ सय ७२ रुपियाँ, सोसुवा तालका ठेकेदार मोहने राजीले तीन लाख ३४ हजार ६ सय ६४ रुपियाँ, झलझलिया तालका ठेकेदार सर्पसिंह धामीले ७१ हजार २ सय ७५ रुपियाँ, लौकहभौकाहा तालका ठेकेदार प्रदीपकुमार शाहले २३ लाख ७५ हजार ८ सय ३५ रुपियाँ, लखराया तालका ठेकेदार कुस्माकर चौधरीले ५१ हजार ५ सय ६१ रुपियाँ, मोहना नयाँ छोरालैया तालका ठेकेदार सत्यनारायण सहनीबाट ८९ हजार ३ सय ३९ रुपियाँ राजस्व उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै १५ नम्बर पिल्लरनजिकको ताल ठेकेदार दिलीप लामाले ४३ हजार ३ सय २४ रुपियाँ, खोल्टी मट्यारी ताल काठ ठेकेदार तिलकराज खत्रीले एक लाख २९ हजार ४ सय ८७ रुपियाँ, दिदीबहिनी तालका ठेकेदार प्रेमबहादुर चौधरीले १० लाख २६ हजार १ सय २५ रुपियाँ, भखारी तालका ठेकेदार रमेशकुमार चौधरीले १४ लाख ४१ हजार ८ सय ३६ रुपियाँ, चुट्टीहवा तालका ठेकेदार रामसागर चौधरीले १४ हजार ७ सय ७१ रुपियाँ, ढोगरवा तालका ठेकेदार मोहन गिरीले १४ लाख २५ हजार पाँच सय, पहलाचगान तालका ठेकेदार दलबहादुर चौधरीले १४ लाख ११ हजार ५ सय ६० रुपियाँ, लोटीहुवा सोरहवा तालका ठेकेदार कञ्चनकुश्मी चौधरीको २२ लाख ९७ हजार २ सय ९५ रुपियाँ उठ्न बाँकी रहेको छ।