कैलालीमा एक हजार पाँच सयले गरे मतदाता नामावली दर्ता
धनगढीः कैलालीमा आगामी निर्वाचनका लागि मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट गत असोज १० गतेदेखि हालसम्म १ हजार पाँच सय ७५ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएका छन्।
जसमध्ये एक हजार सात पुरुष र पाँच सय ६८ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए। उनका अनुसार नयाँ नामावली दर्ता गराउनेमध्ये अधिकांश युवा रहेका छन्। ‘१६ वर्ष उमेर पुगेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँछन्। तर,मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ’ उनले भने ‘हाल नाम दर्ता गराएका मध्ये ६० प्रतिशत नयाँ मतदाता थपिन सक्ने हाम्रो अनुमान छ।’
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आगामी कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ। कैलालीमा पाँच लाख ३४ हजार ८ सय ६४ अद्यावधिक मतदाता रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए। जसमध्ये २ लाख ६१ हजार ५ सय १८ पुरुष, २ लाख ७३ हजार ३ सय ३४ महिला र अन्य १२ जना मतदाता रहेको जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेको छ।